भिक्षुलाई विहार छोड्न निर्देशन



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका संघनायक (जेष्ठ) भिक्षु अश्वघोष महास्थवीरले नेकपा माओवादीका पूर्वसभासद् भिक्षु आनन्दलाई भिक्षुको हैसियतमा बस्ने नैतिकताका आधार र मर्यादा नाघिसकेको विश्लेषण गर्दै चिवर त्याग गर्न निर्देशन दिनुभएको छ।
आफ्नो भिक्षु जीवन निकै चुनौतीपूर्ण र खतरामा रहेको भन्दै भिक्षु आनन्दले आफ्नो भिक्षु जीवन बचाइदिन सार्वजनिक अपिल गर्नुभएको पृष्ठभूमिमा गुरु भिक्षु महास्थवीरले एक वक्तव्य प्रकाशित गरी यस्तो निर्देशन दिनुभएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको ढल्को, क्षेत्रपाटीस्थित संघाराम विहारको नयाँ दर्ता खारेज गरेको पृष्ठभूमिमा आफ्नै गुरुबाट पूर्वसभासद् भिक्षुलाई यस्तो निर्देशन दिइएको थियो।

अखिल नेपाल भिक्षु महासंघले धार्मिक वा विनय कर्ममा समेत सहभागी हुन नपाउने गरी साधारण सदस्यबाट समेत निष्काशन गरेको अवस्थामा चिवर छाडेर जानुमा नै बुद्धिमानी र बाँकी जीवन कल्याणको बाटो हुने भन्दै भिक्षु महास्थवीरले पूर्वसभासद् भिक्षुलाई सो निर्देशन दिनुभयो। भिक्षु महास्थवीरद्वारा हस्ताक्षरित सो पत्रमा भनिएको छ– ‘नैतिकताको आधार गुमिसकेको मान्छे विहारमा बस्न सुहाउँदैन। भिक्षुमैत्री महास्थवीर र मेरोसमेत शिष्य भावले च्यूत भइसकेको व्यक्तिले बलजफ्ती धार्मिक वातावरण खल्बल्याउने काम गरिरहनुहुँदैन।’ त्यसै गरी महास्थविरले विहारमा धार्मिक वातावरण कायम गर्न वैधानिक र आधिकारिक निर्णयअनुरूप अघि बढाउन सबै तहबाट सकारात्मक सहयोग मिल्ने पनि अपेक्षा गर्नुभयो।

संघाराम विहार दर्ता हुँदाहुँदै कसैलाई थाहै नदिई आफ्नै अध्यक्षतामा नयाँ दर्ता गरेर विहारका आवासिय भिक्षु र उपास–उपासिकाहरूलाई अनावश्यक दुःख दिएको पनि पत्रमा भनिएको छ। पूर्वसभासद् भिक्षुले आफ्नै अध्यक्षतामा संस्था दर्ता गर्नुलाई विहारभित्र भइरहेको घूसखोरी, निजीकरण, अवैधानिक क्रियाकलापको अन्त्य गरी विहारलाई विधिवत तरिकारले अघि बढाउने प्रयासको रूपमा अथ्र्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्