महोत्सवमा कृषि प्रदर्शनी मुख्य आकर्षण



स्याङजा—१५ /पुषप्रथम भीरकोट महोत्सवको आधार, कृषि र पर्यटनको पुर्वाधार भन्ने मुल नारा सहित संचालन भएको महोत्सवमा कृषि प्रदर्शनी दर्शकहरुको मुख्य आर्कषण बनेको छ । स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य बस्तुले महोत्सवमा दर्शकलाई बढी लोभ्याएको आयोजकहरुको भनाई छ । महोत्सवमा तय गरिएको नारा अनुसार नै आयोजकले कृषि र पर्यटनको व्यवस्थापन मिलाउन सफल भएकाले पनि कृषिमा दर्शकहरुको आर्कषण बढेको हो । जिल्लाको बयरघारी बजारमा संचालित महोत्सव यही पुस १८ गतेसम्म चल्नेछ ।

पुष ८ गतेदेखि शुरु भएको प्रथम भीरकोट महोत्सवको आठौं दिन सम्म आईपुग्दा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ । ग्रामिण परिवेशको महोत्सव भएपनि महोत्सव अवलोकन गर्न पर्वत, कास्की, तनहुँ र स्याङ्जा जिल्लाबाट दर्शकहरुको उल्लेख्यनीय सहभागिता रहेको आयोजकको भनाई छ ।

आठौं दिन सम्म महोत्सवमा करिव २ लाख ३५ हजार दर्शकले मेला अवलोकन गरेको र २ करोड ८० लाख बराबरको व्यापारीक कारोवार भएको आयोजकको भनाई छ । चार गाविसलाई मिलाएर गतबर्ष सरकारले घोषणा गरेको भीरकोट नगरपालिका सगै स्थापना भएको भीरकोट उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । महोत्सवमा स्थानीय उत्पादन र हस्तकलाका सामाग्रीहरुले बढी बजार पाएका छन् ।

भीरकोटको इतिहास र भीरकोट नामलाई संसार भर चिनाउन महोत्सव नै उपयुक्त ठानेर महोत्सव आयोजना गरिएको भीरकोट उद्योग वाणिज्य संघका सल्लाहकार तोयनाथ अर्याल बताउनुहुन्छ । मुलुकलाई नै थाहा नभएको भीरकोट नामलाई महोत्सवको माध्यमबाट चिनाउन सहज हुने विश्वास लागेर महोत्सव आयोजना गरेको अर्यालले बताउनुभयो । भीरकोट ऐतिहासीक २४से राज्यमध्येको एक शक्तिशाली राज्य हो ।

भीरकोट नगरी भित्र प्रसस्त धार्मिक पर्यटकीय क्षेत्र रहेको र कृषिको पनि पकेट क्षेत्र भएकाले कृषिलाई नै बढी प्रथामिकतामा राखेर महोत्सव आयोजना गरिएको छ । महोत्सव स्थलमा कृषि प्रदर्शनीका लागि आयोजकले निशुल्क स्टलहरुको व्यवस्थापन मिलाएकाले पनि किसानहरु उत्साहीतका साथ आफुले उत्पादन गरेको कृषिजन्य बस्तु प्रदर्शनीमा राखेका छन् । पहिलो पटक महोत्सव आयोजना गर्दा सबै बिषयमा ध्यान दिन नसकेपनि भीरकोटमा उत्पादन हुने कृषिजन्य बस्तुको प्रदर्शनीलाई अवलोकन गरी कृषिलाई आधुनिक र व्यावसायीक बनाउन यो महोत्सवले टेवा पुग्ने महोत्सवका टिकट तथा पास व्यवस्थापन उपसमितिका संयोजक श्यामकाजी अधिकारी बताउनुहुन्छ । महोत्सवमा ताजा तरकारी र कृषि उपजलाई प्राथमिकता दिइएको छ ।

महोत्सवलाई आर्थिक रुपले सम्पन्न बनाउन स्टलहरुको महत्वपूर्ण भुमिका रहने गर्दछ । स्टलहरुमा मेला अवलोकन गर्न आउने दर्शकहरुले आफुले खोजेको सामाग्री पाउन सजिलो हुने भएकाले पनि स्टल व्यवस्थापनको मुख्य भुमिका रहन्छ । १ सय ५० स्टल रहने आयोजकले बताउदै आएपनि महोत्सव शुरु हुन अगावै स्टल बुकिङ्मा व्यापारीहरुको चाप बढेकाले २० ओटा स्टल थप्नु पर्ने अवस्था आएको महोत्सवका मञ्च तथा स्टल निर्माण उपसमितिका संयोजक चन्द्रबहादुर बस्नेत बताउनुहुन्छ । पहिलो पटकको महोत्सव भएपनि भीरकोटमा व्यापारीहरुको चाप बढ्नु खुशीको विषय भएको बस्नेतले बताउनुभयो । महोत्सवमा सुन्तला प्रदर्शनी एवं बिक्री बिशेष आकर्षणका रुपमा देखिन्छ ।

पुष १८ गते सम्म संचालन हुने महोत्सवलाई सफल बनाउन स्थानीय रुपमा उत्पादन गरिएका गोलभेडा, सुन्तला, अदुवा, फर्सी, तरुल, च्याउ, मौरीबाट उत्पादीत मह, कुखुराका अण्डा, मरिच, फलामबाट निर्माण गरिएको औजारहरु प्रर्शनीमा राखिएको छ । जसले गर्दा भीरकोटको कृषि व्यावसायलाई यो महोत्सवले थप व्यवस्थित र व्यावसायीक बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्