विपक्षीलाई पेलेर जाने मुडमा सरकार



बीपी साह, काठमाडौं
संविधान संशोधन विधेयकको विरोध गर्दै विगत एक महिनादेखि संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका नौ दललाई पेलेर जाने तयारी सरकारले गरेको छ। सोमबार बस्ने संसद् बैठकबाट प्रक्रियामा गएर भए पनि संशोधन विधेयकको टुंगो लगाउने निष्कर्ष निकालिएको छ।

सभामुख ओनसरी घर्तीले सदन अवरुद्ध हुँदै आएकाले संविधान कार्यान्वयनमा कठिनाइ भएको बताउँदै अब विवादित विषयमा सहमति नभए प्रक्रियामै जानुपर्ने बताउनुभएको छ। ‘प्रमुख दलहरूलाई तीन दिनको समय दिएका छौं। उहाँहरूले विवादित विषयमा सहमति गर्नुभएन भने प्रक्रियामा गएर पनि टुंगो लगाउनुपर्छ’, सभामुख घर्तीले भन्नुभयो– ‘पुस १८ गते सोमबार एकपटक मात्र होइन, दुई–तीन पटक भए पनि बैठक बस्छौं।’ उहाँले भन्नुभयो– ‘दलहरूलाई सहमति गर्न अवसर दिन्छौं भएन भने प्रक्रियामा जानुपर्ने हुन्छ।’

बिहीबारको संसद् बैठकपछि सञ्चारकर्मीहरूसँगको साक्षात्कारमा सभामुख घर्तीले २०७४ माघ सात गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरूलाई सहमतिमा आउन बारम्बार दबाब दिए पनि सहमति हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो।

दलहरूले तीन दिनभित्र सहमति गर्न नसके प्रक्रियामा जाने विषयमा सकारात्मक संकेत आफूले पाएको सभामुख घर्तीले दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘दलका शीर्ष नेतृत्व र प्रमुख सचेतकहरू प्रक्रियामा जाने विषयमा सकारात्मक हुनुहुन्छ, उहाँहरू आफैले १८ गतेसम्म काठमाडौंबाहिरको कार्यक्रममा नजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

यता बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि सदन अगाडि बढाउने निर्णय गरेको छ। समितिले प्रक्रियामा गएर भए पनि संशोधन विधेयकलाई टुँगो लगाएर निर्वाचनलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ।
बिहीबारको बैठक अवरुद्ध भएपछि सभामुख घर्ती आक्रमकरूपमा प्रस्तुत हुने संकेत गर्नुभएको हो। बैठक शुरु हुनासाथ नेकपा एमालेका सांसद वैजनाथ चौधरी थारुले बोल्दै संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभएको थियो।
उहाँले संविधान संशोधन विधेयक फिर्ता नभएसम्म सदन चल्न नदिने बताएपछि प्रतिपक्षी दलमा रहेका सम्पूर्ण सांसदहरू उभिएर सदन अवरुद्ध गरेका थिए। सदन अवरुद्ध भएपछि सभामुख घर्तीले पुस १८ गते दिउँसो १ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको छ।

मोर्चा सकारात्मक
सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकलाई पारित गर्ने विषयमा मधेसी मोर्चा सकारात्मक देखिएको छ। बिहीबार तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले अहिलेको संशोधन विधेयकलाई पारित गर्दै अर्को आन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको छ।

बैठक शुक्रबार पनि जारी रहने बताउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मोचाले अहिले निर्णय गरिसकेको छैन। छलफल जारी छ। शुक्रबार दिउँसो एक बजे पत्रकार सम्मेलनमार्फत मोर्चाको निर्णय सार्वजनिक गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्