आफन्तलाई १ लाख सहयोग



वीरेन्द्रनगर, (नेस)
मलेसियामा मृत्यु भएका एक जना नेपालीको आफन्तलाई रोजगारीका सिलसिलामा मलेसियामा रहेका नेपाली कामदारहरूले १ लाख १ हजार रुपियाँ सहयोग गरेका छन्। सिराहाको कसाहा घर भएका आवाद महतो सुदीका परिवारलाई मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका हुन्।

करिब १ वर्षअघि रोजगारीको सिलसिलामा गएका महतो सुदीको १४ डिसेम्वर २०१६ मा राती होस्टेलमा सुतेकै अवस्थामा निधन भएको थियो।

मलेसियाको जोहोर बारुको साइनटर्न एसडीएन बीएचडी कम्पनीमा कार्यरत बुद्धबहादुर खपांगी, शिवराज शर्मा, कृष्ण राउत, नवराज पल्ली, गोविन्द थापा, प्रेमनारायण श्रेष्ठलगायतका व्यक्तिहरूको पहलमा राहत संकलन गरी घरपरिवारलाई १ लाख रुपियाँको चेक प्रदान गरिएको हो।

शवलाई नेपालसम्म पुर्याउन मलेसियामा रहेका नेपालीले सहयोग गरेको मलेसियाको साइनटर्न एसडीएन बीएचडी कम्पनीमा कार्यरत सुर्खेतका शिवराज शर्माले बताउनुभयो। १ लाख १ हजार रुपियाँ कम्पनीमा कार्यरत नेपालीबाट संकलन गरी महतोको श्रीमती बेचनी साह सुदीलाई पठाएको शर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्