निर्वाचनका लागि तयार छैनन् दल



नेपाल समाचारपत्र
डडेल्धुरा
राजधानीमा प्रमुख तीन राजनीतिक दलबीच एक साताभित्रै स्थानीय निर्वाचन घोषणा गर्न सहमति भएको सार्वजनिक भए पनि प्रमुख दलका जिल्ला संगठन नै निर्वाचनका लागि तम्तयार देखिँदैनन्।

स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच घनिभूत छलफल भएको र मधेसी मोर्चासँग छलफल गरी एक साताभित्रै मिति तोक्ने सहमति भएको आमसञ्चारमाध्यममार्फत् सार्वजनिक भएको छ। स्थानीय तहको पुनर्संरचनासम्बन्धी आयोगले प्रतिवेदन तयार गरिसकेकाले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा प्रमुख दलका शीर्ष नेताहरूको जोड छ।

वर्तमान राजनीतिक गतिरोधको गाँठो फुकाई अघि बढ्ने र त्यसका लागि संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय तहको पुनर्संरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने र निर्वाचनसम्बन्धी विधेयक पारित गरी निर्वाचनको मिति तोक्ने सम्बन्धमा लामो समयदेखि छलफलमा रहेका प्रमुख दलहरूबीच स्थानीय निर्वाचनका लागि सहमति जुटे पनि निर्वाचनको माहोल नदेखिएको विश्लेषकहरू बताउँछन्।

स्थानीय तहको निर्वाचनमा कमान्ड सम्हाल्ने जिम्मेवारीमा रहेका दलहरूको जिल्ला नेतृत्व र पार्टी संगठन स्थानीय निकायको निर्वाचनका लागि तम्तयार नदेखिएकाले चाँडै स्थानीय निर्वाचन होला भन्ने आशा गर्न नसकिने पाका राजनीतिकर्मी तारीसिंह बोहरा बताउँछन्। ‘जिल्लास्तरमा राजनीतिक दलहरू विभक्त अवस्थामा छन्’, डडेल्धुराको जिल्ला राजनीतिलाई नजिकबाट नियालिरहेका पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष छत्र साउद भन्छन्– ‘स्थानीय तहको निर्वाचनको कमान्ड हाँक्ने जिल्लास्तरीय पार्टी संगठनमा व्याप्त चरम गुटबन्दीका कारण अहिलेकै अवस्थामा जिल्लास्तरीय राजनीतिक दलहरू निर्वाचनका लागि तम्तयार देखिँदैनन्।’

जिल्लामा प्रभावशाली देखिएका राजनीतिक दलहरू आन्तरिक गुटबन्दी र कलहमै रमाइरहेकाले कम्तीमा पनि अन्तर पार्टी एकता सुनिश्चित नदेखिएसम्म स्थानीय तहको निर्वाचनका लागि जिल्लामा राजनीतिक माहोल तयार नहुने अधिवक्ता पुष्पराज जोशीको तर्क छ। ‘दलहरू जिल्लादेखि गाउँबस्तीसम्म चरम गुटबन्दीमा रहेका बेला निर्वाचन हुने कुरामा पार्टीका कार्यकर्ता नै विश्वस्त देखिँदैनन्’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्