‘फलामको चिउरा’ बन्दै विद्यालय व्यवस्थापन समिति



कृष्णउदास खनाल, वीरगन्ज
पर्साको ग्रामीण भेगका विद्यालयमा अझै पनि विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा पठनपाठन प्रभावित भएको अभिभावकले गुनासो गरेका छन्। जिल्लाको शंकरसरैया–४ सखुवनियामा रहेका ने रा प्रावि शंकरसरैयामा दैनिक विद्यालय व्यवस्थापन समितिको अभावका कारण पढाइ नै राम्रोसँग नभएको स्थानीय अभिभावक ओमप्रकाश चौधरीले जानकारी दिनुभयो। करिब ३ सय विद्यार्थी संख्या रहेका सो विद्यालयमा २ जना साधारण दरबन्दीका शिक्षक, १ जना निजी स्रोतका शिक्षक, बाल विकासका १ शिक्षिका र परिचर गरी ५ जना कर्मचारी रहे पनि एक दुई जनाभन्दा बढीको उपस्थिति नहुने गरेको स्थानीय कमलेश यादवले जानकारी गराउनुभयो।

विद्यालयका प्रधानाध्यापक जयनारायण राउत, सहायक शिक्षक राजेन्द्र महतो र बाल विकासका शिक्षिका रुन्ची देवीले आफ्नो मनोमानी तरिकाले हप्तौंसम्म घर बस्ने गरेका स्थानीय अभिभावकले आरोप लगाएका छन्। त्यसरी नै पर्साको ग्रामीण भेगका अधिकांश विद्यालय विद्यालय व्यवस्थापन समितिविहीन हँुदा पठनपाठनमा समस्या भइरहेको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि जुँगाको लडाइँ नै बनाइएका कारण पनि पर्सामा व्यवस्थापन समिति चयनमा समस्या भएको स्थानीय अगुवाले बताएका छन्। पर्सामा रहेका करिब ५ सय सामुदायिक विद्यालयहरूमा व्यवस्थापन समिति गठन हुन नसक्दा पठनपाठनमा समस्या भइरहेको पर्सा पोखरियाका स्थानीय सञ्चारकर्मी धर्मेन्द्र चौरसियाले जानकारी दिनुभयो। उहाँका अनुसार चुनावलाई प्रतिष्ठाको विषय बनाइएका कारण पनि विद्यालय व्यवस्थापन समिति फलामको चिउरा बन्ने गरेको हो। पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले भने सबै सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठनका लागि निर्देशन दिइसकिएको दाबी गर्नुभयो। उहाँले विद्यालय व्यवस्थापन समितिको गठन गर्नका लागि निर्देशन भएका कारण सबै विद्यालयमा अब व्यवस्थापन समिति बन्ने जिकिर गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्