प्रमुख दल गाउँ दौडाहामा



यज्ञराज थापा, दैलेख
जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरू यतिबेला पार्टीका विभिन्न कार्यक्रम लिएर गाउँगाउँ पसेका छन्। धेरैजसो जिल्ला सदरमुकाममा मात्र भेटिरहने नेता कार्यकर्ता पनि पार्टी अभियान भन्दै गाउँ पसेपछि सदरमुकाम आजभोलि शून्यझैं देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमाले पार्टीलाई अहिले पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियानको चटारो परेको छ भने नेकपा माओवादी केन्द्र पनि जनवर्गीय संगठनको बैठक सक्दै गाउँ पस्ने तयारीमा रहेको बुझिएको छ। विभिन्न नाम र नारा दिँदै गाउँ अभियानमा दलका नेता कार्यकर्ताहरू गाउँ पसेपछि उनीहरूको प्रमुख लक्ष्य स्थानीय निकायको निर्वाचन हो कि भन्ने आकलन गर्न थालिएको छ।

पार्टीको अभियानसँगै गाउँ पसेका दलहरूको प्राथमिकतामा अर्का दलका कार्यकर्ता पार्टीमा प्रवेश गराउने गरेको पाइएको छ। धेरैजसो गाविस र इलाकास्तरमा भइरहेका ती कार्यक्रममा दर्जनौं व्यक्ति पार्टी प्रवेश भएको भन्ने अहिले लहर नै चलेको छ। एमालेले राष्ट्रिय जनमोर्चाका पूर्व जिल्ला अध्यक्ष मयाराम अधिकारीलाई पार्टीमा प्रवेश गराएको छ भने नेपाली कांग्रेसले नेकपा एमाले पगनाथ गाविसका क्रियाशील कार्यकर्ता कर्ण अधिकारीलाई क्रियाशील सदस्यता दिएर पार्टी प्रवेश गराएको छ।

नेकपा एमालेले वर्तमान राजनीतिक परिस्थिति र एमालेको भावी रणनीतिको जानकारी गराउन एक महिने अभियान नै शुरु गरेको बताएको छ। दुवै निर्वाचन क्षेत्रमा जित हात पारेको एमालेले स्थानीय निकाय निर्वाचन लक्षित कार्यक्रम शुरु गरेको एक कार्यकर्ताले जानकारी दिएका छन्। संविधानसभाको निर्वाचनमा दुवै क्षेत्र विजय हासिल गरेको एमालेले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो साख कायम गर्न एमालेले एक महिने जनपरिचालन अभियान सञ्चालन गरेको एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रेम थापाले जानकारी दिए।

गाउँ अभियानमा दुवै निर्वाचन क्षेत्रबाट विजयी सांसददेखि केन्द्रीय तथा जिल्लास्तरीय नेतासम्म सहभागी भइरहेको बुझिएको छ। नेकपा एमालेले ४९ गाविस र दुई नगरपालिकामा आफ्नो अभियान सञ्चालन गर्ने र स्थानीय नेता कार्यकर्तालाई पार्टीले दिएको जिम्मेवारी पूरा गर्न क्रियाशील बनाउने उपाध्यक्ष थापाले बताए।

गाउँ अभियानका क्रममा नयाँ सदस्यलाई पार्टीमा भित्त्याउने सँगै कमजोर संगठन भएका ठाउँमा पहिलो प्राथमिकताका साथ अगाडि बढ्ने नेकपा एमालेका पार्टी अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए। गाउँ अभियानसँगै एमाले दैलेखको आयोजना बिहीबार नौमुले बजारमा भएको जनसभामा एमालेका पोलिट्ब्युरो सदस्य यामलाल कँडेलसमेत सहभागी भई सम्बोधन गरेका थिए।

उता नेपाली कांग्रेसले पनि सम्भावित स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेर गाउँ अभियानमा लागेको छ। नयाँ कार्यसमितिमा युवा नेताको बाहुल्यता बढेसँगै नेपाली कांग्रेसको गाउँ दौडाहा पनि ह्वात्तै बढेको छ। जिल्लाका विभिन्न बजार, क्षेत्र र गाविसमा नेपाली कांग्रेसले बैठक, जनसभा र छलफल सञ्चालन गरी पार्टीका गतिविधि शुरु गरेको नेपाली कांग्रेसका जिल्ला सहसचिव रत्न शाहीले जानकारी दिए ।संविधानसभाको निर्वाचनमा गुमाएको साख स्थानीय निकाय निर्वाचनमा फर्काउने अभियानमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू सक्रिय देखिएको उनको भनाइ रहेको छ। नेकपा माओवादी केन्द्रले तत्काल गाउँ पस्ने कुनै ठोस निर्णय नगरिसकेको र केही दिनभित्र पार्टी बैठक बसी आगामी कार्यक्रम तय गर्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्