अना इभानोभिचले संन्यास लिइन



लन्डन, (एजेन्सी)

सर्बियाली टेनिस स्टार अना इभानोभिचले २९ वर्षको उमेरमा टेनिसबाट संन्यास लिएकी छन्। विश्व महिला टेनिसमा नम्बर एक बनिसकेकी अनाले उच्च स्तरको खेल खेल्न नसकेको बताउँदै बिहीबार संन्यास लिएकी हुन्।

अनाले भनिन्—मैले आफनो उच्च स्तरको खेल देखाउन सके मात्रै खेल्न सकिन्छ। तर मैले यस्तो गर्न सकिँदैन त्यसैले टेनिस छोडनु परेको छ। यसो भनिरहँदा मलाई गाह्रो पनि भइरहेको छ। मैले मोनिका सेलसले खेलिरहेको टिभीमा देखेर पाँच वर्षको उमेरदेखि नै टेनिस खेलिरहेको सपना देखेको थिए।

अगस्टदेखि नै चोट बेहोरेकी अना हाल विश्व महिला टेनिसको रेन्किङमा ६३ औं नम्बरमा ड्रप भएकी छिन्। यस २०१६ वर्षमा उनले केवल १५ खेल जितेकी छिन्। अनाको सबैभन्दा उत्कृष्ट वर्ष भनेको सन् २००८ थियो। त्यो वर्ष उनले वर्षमा हुने दोस्रो ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्। त्यही वर्ष उनले १२ हप्ता नम्बर एकमा बिताइन्।

अनाले करिअरमा १५ सिंगल्स उपाधि जितिन्। गत वर्ष उनी फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेकी थिइन्। त्यस्तै २००७ मा फ्रेन्च ओपन र विम्बल्डनको फाइनल उनले हारेकी थिइन्। त्यस्तै २००८ को अस्ट्रेलियन ओपनमा पनि उनी रनरअप बनेकी थिइन्।

अनाले यसै वर्षको शुरुआतमा म्यानचेस्टर युनाइेडका जर्मन फुटबलर बास्टियन स्वेइनस्टेइगरसँग बीहे गरेकी हुन्। उनले संन्यासपछि बिजनेस, ब्युटी र फेसनमा मौका पाउने पनि आशा गरेकी छिन्। साथै अहिले युनिसेफसँग काम गर्न धेरै समय हुने पनि उनले बताइन्। अना सर्बियाको लागि राष्ट्रिय दुत बनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्