सुस्मिता र जयराज पहिलो



काठमाडौं, (नेस)
सातौ राष्ट्रिय खेलकुद अन्र्तगत दोस्रो राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बिहीबार नेपाल आर्मीकी सुस्मिता बस्नेत र एपीएफका जयराज अवस्थीले व्यक्तिगत स्याबर इभेन्टमा स्वर्ण जितेका छन्। काठमाडौंको कभर्ड हलमा भइरहेको प्रतियोगितामा महिलातर्फ अस्मिताले एपीएफकी तुलसा बुढाथोकीलाई पराजित गरेकी हुन्। त्यस्तै पुरुषतर्फ जयराजयले एपीएफकै प्रकाश कुँवरलाई हराए।

यसैगरी स्याबर महिला टिमतर्फ आर्मीले स्वर्ण जित्दा एपीएफले रजत पदक जितेको थियो। सोही इभेन्टको पुरुषतर्फ पनि आर्मीले नै स्वर्ण हात पार्यो। आर्मीको टिमले एपीएफको टिमलाई हराएको थियो।

विभागिय टोली फाइनलमा
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरमा भइरहेको पुरुष क्रिकेटमा विभागिय टोलीबीच स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको छ। बिहीबार भएको सेमिफाइनल खेल जित्दै एपीएफ र आर्मी फाइनल पुगेका हुन्। बैजनाथपुर मैदानमा भएको खेलमा एपीएफले मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्यो। मध्यमाञ्चलले छोडेको मात्र ६१ रनको लक्ष्य एपीएफले २ विकेटको क्षेतिमा ९.३ ओभरमा भेटाएको थियो। जसमा प्रदीप ऐरीले ३३ रन जोडेका थिए।

त्यस्तै अर्को खेलमा आर्मीले अर्को विभागिय टोली पुलिसलाई ८ विकेटले नै हराएको थियो। पुलिसले दिएको १ सय ४५ रनको लक्ष्य आर्मीले मात्र २ विकेटको नोक्सानीमा ९ बल बाँकी राखी प्राप्त गर्यो। टोलीका लागि अनिल मण्डलले ६२ रन र सागर पुनले ५९ रन बनाए।

प्रतिक्रिया दिनुहोस्