फुटबलमा पुलिसलाई कांस्य



सन्तोष काफ्ले, धरान

सातौं राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले कांस्य पदक जितेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार मध्यमाञ्चल क्षेत्रलाई ४–३ गोलअन्तरले पराजित गर्दै पुलिसले कांस्य पदक जितेको हो। प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा पुलिसका तीर्थ राना मगरले दुई गोल गरे भने भोला सिलवालले एक गोल गरेका थिए। एक गोल भने मध्यमाञ्चलका खेलाडीले आत्मघाती गरेका थिए। स्वर्ण पदकका लागि शुक्रबार नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच फाइनल प्रतिस्पर्धा हुनेछ।

यसअघि नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब सडेन डेथमा मध्यमाञ्चललाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। आर्मीका लागि सडेन डेथमा दीपक लामा, पदम तामाङ, र राजु तामाङले गोल गरे भने मध्यमाञ्चलका तर्फ निरबहादुर आले र दिनेश योञ्जनले गोल गरे। सडेन डेथमा मध्यमाञ्चलका जितबहादुर मगर गोल गर्न मा चुक्दा फाइनलको यात्रा सकिएको थियो। बिहीबारै भएको ट्राइब्रेकरमा ४–४ बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो।
ट्राइब्रेकरमा राष्ट्रिय टोलिका स्ट्राइकरसमेत रहेका नवयुग गोल गर्न चुके पनि आर्मीका लागी जितेन्द्र कार्की, दीपक गुरुङ, सुमन अर्याल र गोल रक्षक विकेश कुथुले गोल गरेका थिए।

बुद्धि र लक्ष्मीले स्वर्ण जिते
सातौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत धरानमा सञ्चालन भएको १५औं राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिपको खुल्ला पुरुषतर्फ नुवाकोटका बुद्धिबहादुर तामाङले स्वर्ण पदक हात पारे। त्यस्तै महिला खुल्लातर्फ लक्ष्मी मगरले स्वर्ण जितिन्। तामाङले नाइट ल्याप अर्थात् २७ किमीको दूरी १ घण्टा २७ मिनेटमा पार गर्दा लक्ष्मीले १ घण्टा १४ मिनेट २९ सेकेन्डमा १८ किमीको दूरी पार गरेकी हुन्।
यसै गरी पुरुषतर्फ १ घण्टा २७ सेकेन्ड ४७ सेकेन्डसहित काठमाडौंका नारायण गोपाल महर्जनले रजत र १ घण्टा ३३ मिनेट २४ सेकेन्डमा पार गर्दै काठमाडौंकै राजकुमार श्रेष्ठले कांस्य पदक जितेका थिए।

विजयपुरमा आयोजना गरिएको सो प्रतियोगिताको महिलामा १ घण्टा १७ मिनेट ३४ सेकेन्डमा पार गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्का रजत र आर्मीकै पुष्पाकुमारी भण्डारीले १ घण्टा २० मिनेट २४ सेकन्डमा पार गर्दै कांस्य पदक हात पारे।

प्रतिक्रिया दिनुहोस्