वैदेशिक लगानी भित्त्याउन कार्यदल



Global Business

काठमाडौं, (नेस) परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले कूटनीतिक पहलमार्फत देशमा लगानी भित्र्याउन र निर्यातलाई प्रवद्र्धन गर्ने काममा लाग्न नेपाली मिसन र अन्य सरकारी संयन्त्रलाई निर्देशन दिनु भएको छ। उच्चस्तरीय आर्थिक कूटनीति सञ्चालन तथा अनुगमन समितिको बिहीबार परराष्ट्र मन्त्रालयमा बसेको बैठकमा मन्त्री डा. महतले आर्थिक कूटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउने काममा परराष्ट्र मन्त्रालयको समन्वयमा सम्बद्ध सबै सरकारी निकाय सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिनुभएको हो।

उक्त बैठकमा मन्त्री डा. महतले भन्नुभयो–‘नेपालमा वैदेशिक लगानी भित्र्याउने बारेमा नै केन्द्रित हुँदा पनि कुन क्षेत्रलाई लक्ष्य गर्ने र हाम्रो प्राथमिकता के हो भन्ने पहिचान स्पष्ट हुनु जरुरी छ।’ बैठकमा सहभागी विभिन्न मन्त्रालयका सचिवलगायतका निजी क्षेत्र एवम् लगानी बोर्डका प्रतिनिधिलाई निर्देशन दिँंदै मन्त्री डा महतले भन्नुभयो–‘नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताले कुन क्षेत्रमा र कहाँ सम्भावना देखेको छ त्यसलाई सहजीकरण गरिदिने काम हाम्रो हो।’ लगानी र निर्यातजस्ता विषयमा राष्ट्रिय हित र हाम्रो स्वार्थका प्राथमिकता के हुन् भन्ने बारेमा सरकारी सम्बद्ध संरचनाले मार्ग पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

आर्थिक कूटनीतिको अवधारणालाई सही र चुस्त रूपमा प्रयोगमा ल्याउन सकिएमा नेपालको समृद्धिको बाटो खुल्ने भएकाले परराष्ट्र मन्त्रालयको संयोजनमा देशका यस क्षेत्रका सम्बद्ध निकाय र संरचनाहरू प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा मन्त्री डा. महतले जोड दिनुभयो।

बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले बढ्दो व्यापारघाटालाई कम गर्न र देशमा वैदेशिक लगानी भित्र्याउन आर्थिक कूटनीतिको प्रयोगलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

यसैबीच सो बैठकले आर्थिक कूटनीतिको माध्यमबाट नेपालमा लगानी भित्र्याउने विषयमा नेपालले कुन–कुन क्षेत्रलाई प्राथमिकता दिने र रणनीति तय गर्ने भन्ने बारेको पहिचान गरी कार्य प्रणालीसमेत निर्माण गर्न परराष्ट्र मन्त्रालयको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा श्रम, अर्थ, पर्यटन र बाणिज्य मन्त्रालय, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स र लगानी बोर्डका प्रतिनिधि रहने छन्। कार्यदलले एक महिनाभित्र लगानीको सम्भावना र नेपालका प्राथमिकताका साथै नेपालले गर्न सक्ने निर्यात प्रवद्र्धनका बारेमा अध्ययन गरी सिफारिस गर्नेछ।

प्रतिक्रिया दिनुहोस्