३० अंकले नेप्से बढ्दा लगानीकर्तालाई ३५ अर्ब नाफा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई फर्दर पब्लिक अफरिङ (एफपीओ) निश्कासनका गर्ने अनुमति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १ हजार ४ सय २५ रुपियाँ शेयर मूल्यमा ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ निश्कासनका लागि स्वीकृति दिएको हो। कम्पनीले सय रुपियाँ प्रथिकित्तामा १ हजार ३ सय २५ रुपियाँ प्रिमियम थप गर्ने भएको हो। एपीओ स्वीकृति पाएपछि कम्पनीले २ महिनाभित्र निश्कासन गर्नुपर्नेछ।
त्यस्तै नेपाल स्टक एक्सचेन्जमा नौ कम्पनीको शेयर सूचीकृति भएको छ।

बिहीबार एनआईसी एसिया बैंकको १ करोड २० लाख ८ हजार ८ सय १ कित्ता बोनस शेयर, सिटिजन्स बैंकको ७५ लाख ६ हजार ७ सय ५७ कित्ता बोनस शेयर, नेपाल बंगलादेश बैंकको ९७ लाख २५ हजार सय ४७६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। साथै प्रभु इन्स्योरेन्सको ५५ लाख ९४ हजार २२४ कित्ता बोनस शेयर, आईसिएफसी फाइनान्सको ११ लाख ६४ हजार ९ सय ८५ कित्ता बोनस शेयर, युनिक फाइनान्सको ३ लाख ८१ हजार ७ सय ७६ कित्ता बोनस शेयर, अल्पाइन डेभलपमेन्ट बैंकको २ लाख ७१ हजार ४ सय कित्ता बोनस शेयर, अल्पाइन डेभलपमेन्ट बैंककै ८ लाख २० हजार कित्ता हकप्रद शेयर, गुहेश्वरी मर्चेन्ट बैंकिंङ एन्ड फाइनान्सको १४ लाख ४० हजार ४ सय ७ कित्ता हकप्रद शेयर र वोमी माइक्रोफाइनान्सको १ लाख ८० हजार कित्ता हकप्रद शेयर गरी ३ करोड ९० लाख ९३ हजार ८२६ कित्ता थप शेयर नेप्सेमा सूचीकृत भएको छ।

यसैगरी नेपाल स्टक एक्सचेञ्जमा बिहीबार चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ। गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल दिने प्रस्ताव गरेका नेको इन्स्योरेन्स, साना किसान विकास बैंक, ज्योति विकास बैंक र कैलाश विकास बैंकको शेयर मूल्य समायोजन भएको हो। नेको इन्स्योरेन्स र कैलाश विकास बैंकको हकप्रदको पनि एकैपटक शेयर मूल्य समायोजन भएको छ।

मूल्य समायोजन अनुसार कैलाश विकास बैंकको प्रतिकित्ता शेयरमूल्य ३५२ रुपियाँ निर्धारण भएको छ। बैंकको प्रतिकित्ता शेयरको आधार मूल्य ३४२ रुपियाँ रहेको छ। त्यस्तै ज्योति विकास बैंकको प्रतिकित्ता शेयरमूल्य २९६ रुपियाँ र आधार मूल्य २१६ रुपियाँ तय भएको छ। नेको इन्स्योरेन्सको प्रतिकित्ता शेयरमूल्य ७७९ रुपियाँ र आधार मूल्य ९५७ रुपियाँ रहेको छ। साथै साना किसान विकास बैंकको प्रतिकित्ता शेयर मूल्य ९६८ रुपियाँ र आधार मूल्य १ हजार ५२ रुपियाँ रहेको छ।

यसैबीच साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३० दशमलव २३ अंकले बढेर १४४३ दशमलव ३८ अंकमा पुगेको छ। यसदिन १२६ कम्पनीको १० लाख ५६ हजार ९ सय कित्ता शेयर ५६ करोड ६४ लाख रुपियाँभन्दा बढीमा किनबेच भएको छ। नेप्सेको वृद्धिसँगै समग्र बजार पुँजीकरण ३५ अर्बले बढेर १६ खर्ब १५ अर्ब रुपियाँ पुगेको छ। बिहीबार कारोबारमा आएका सबै समूहमा उकालो लागेपछि नेप्से बढेको छ। यस दिन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, कञ्चन डेभलपमेन्ट बैंक, नागरिक लगानी कोषलगायतका कम्पनीका लगानीकर्ताले धेरै कमाउनेमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्