बस्ती विस्तार रोक्ने प्रस्तावको केरीद्वारा समर्थन



इजरायललाई ट्रम्पको ढाडस
वासिङ्टन, (एजेन्सी) अमेरिकी विदेश मन्त्री जोन केरीले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इजरायली बस्ती अवैध ठहर्याउने प्रस्तावलाई समर्थन गरेको आफ्नो सरकारको फैसलाको बचाउ गरेका छन्। उनले दुई राष्ट्रको विकल्पलाई गम्भीर क्षति पुर्याउनबाट बचाउनका लागि त्यस्तो गरिएको बताए। एउटा सुरक्षित इजरायल र एउटा व्यावहारिक प्यालिस्टाइनबिना इजरायलले साँचो अर्थमा शान्ति हासिल गर्न नसक्ने केरीले बताए। उनले दुई राष्ट्रको समाधानबिना इजरायली र प्यालेस्टिनी दुवैलाई फाइदा नहुने बताए।

अमेरिकी विदेश मन्त्रीले भने– ‘यदि एउटै मात्र राष्ट्र चयन भयो भने इजरायल या त यहुदी हुने वा लोकतान्त्रिक देश बन्नेछ, दुवै हुन सक्दैन। यो स्थितिमा ऊ कहिल्यै पनि शान्त हुन सक्दैन। अर्कोतर्फ प्योलिस्टाइनले एक राष्ट्रको समाधानबाट कहिल्यै पनि त्यो देशमा आफ्नो विशाल क्षमतालाई पूर्णरूपमा बुझ्न सक्दैन।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उनको बयानलाई लिएर गहिरो निराशा प्रकट गर्दै त्यसलाई अमेरिकी नीतिमा आएको ठूलो परिवर्तनको संज्ञा दिएका छन्।

उनले भने– ‘म चाहन्छु, प्यालेस्टिनी युवाहरू हाम्रा बच्चाहरूले जस्तै शान्तिको पाठ पढून्। तर उनीहरू शान्ति बुझ्दैनन्। प्यालेस्टिनी प्रशासन उनलाई आतंकवादी बन्न र इजरायली नागरिकलाई मार्न शिक्षा दिन्छन्।’ प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आफू इजरायलका बस्ती निर्माण बन्द भयो भने मात्र वार्तामा फर्कनका लागि तयार भएको बताए।

यसैबीच अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई उनी राष्ट्रपति बनुन्जेलसम्म इजरायल मजबुत बनिरहनुपर्ने बताए। उनले ट्विटमा इजरायसँग ‘यस्तो अपमानजनक व्यवहारलाई अुनमति दिइनेछैन’ लेखेका छन्। उनले ट्विटमा ‘पहिला इरानसँग सम्झौता र अब संयुक्त राष्ट्र’ लेखेका छन्।

ट्रम्पको उक्त ट्विटलाई लिएर इजरायलका प्रधानमन्त्री नेतान्याहुले भने– ‘डोनाल्ड ट्रम्प तपाईंलाई यो न्यानो जोसिलो मित्रता र प्रष्टरूपमा इजरायलको समर्थन गरेकामा धन्यवाद।’ ट्रम्पका आलोचकले उनीभन्दा अगाडि धेरैपटक अन्तर्राष्ट्रिय मामिलामा कुरा गर्नका लागि परम्परागत प्रक्रिया अवलम्बन गर्न अुनरोध गरेका छन्। संयुक्त राष्ट्र संघले इजरायलको कब्जामा रहेको क्षेत्रमा अवैध यहुदी बस्ती निर्माणमाथि रोक लगाउने प्रस्ताव ल्याइएको थियो र त्यसलाई गत शुक्रबार सुरक्षा परिषद्मा पारित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्