भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्छुः राष्ट्रपति डुटेर्टे



मनिला, (एजेन्सी ) केही महिनाअघि सत्तामा पुगेदेखि नै फिलिपिन्समा लागूऔषध काराबार र प्रयोगकर्ता निमिट्यान्न पार्ने अभियानमा लागेका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बिहीबार भ्रष्ट सरकारी कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्ने चेतावनी दिएका छन्।

केही दिनअघि मात्र संयुक्त राष्ट्र संघका एक जना वरिष्ठ अधिकारीलाई लागू औषध कारोबार विरुद्धका अभियानमा थुप्रै मानिस मारेकोमा आलोचना गरेको भन्दै उनले तिनलाई ‘कुकुर्नीको छाउरो’ को संज्ञा दिएका थिए। त्यसभन्दा अघि अमेरिकी राष्ट्रपति बाराक ओबामामाथि पनि अपशब्द प्रयोग गरी विवादमा आएका उनले विगतमा पनि आफूले भ्रष्ट कर्मचारीलाई हेलिकोप्टरबाट खसालिसकेको समेत स्वीकार गरेका छन्।

उनले भनेका छन् ‘जसले भ्रष्टाचारका लागि सरकारी कोष दुरूपयोग गर्छ, म उसलाई हेलिकोप्टरमा राजधानी मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फालिदिन्छु, हो म यो गरी छाड्छु। यसअघि पनि यस्तो काम गरेको छु र फेरि गर्नेछु।’

तर ७१ वर्षीय डुटेर्टेले हेलिकोप्टरबाट मान्छे फालेको घटनाबारे विस्तृत विवरण दिन चाहेनन्। सञ्चार माध्यमले भने डावाकोको मेयर रहँदा उनले एकजना अपहरणकारीलाई उडिरहेको विमानबाट फालेको दाबी गरेको छ।

एक साताअघि उनले एक विजनस फोरममा डावाकोको मेयर रहँदा अपराधीहरूलाई आफैंले गोली हानेर मारेको बताएका थिए। ‘मैले त सक्छु भने तिमीले किन सक्दैना’ भनेर पुसिललाई देखाउन आफूले गोली चलाएको र आफ्नो हातबाट यसरी तीन जना मारिएको उनले बताएका थिए।

डुटेर्टे फिलिपिन्सको राष्ट्रपति भएको छ महिना पुग्नै लाग्दासम्ममा फिलिपिन्समा लागूऔषध तस्कर तथा प्रयोगकर्ताको नाममा ६ हजार मानिस मारिएका छन्। अब उनले भ्रष्टाचारविरुद्ध कडा अभियान चलाउने घोषणा गरेका छन्। उनको यो अभियान पनि लागू औषधविरुद्धको अभियान जस्तै निर्मम हुने बताइएको छ। लागूऔषध विरुद्धको अभियानको दौरान गैरन्यायिक हत्या भएको भन्दै मानव अधिकारवादी समूहहरू र संयुक्त राष्ट्र संघले डुटेर्टे सरकारको कडा आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्