सिरियाली सरकार र विद्रोही समूहबीच युद्धविराममा सहमत



मस्को, (एजेन्सी) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली सरकार र विद्रोही समूहबीच संघर्षविराममा सहमति भएको र दुवै पक्ष शान्तिवार्ताका लागि राजी भएको घोषणा गरेका छन्।

यो युद्धविराम स्थानीय समयअनुसार बिहीबार मध्यरातिबाट लागू हुनेछ। टर्कीका विदेशमन्त्री मेवलुत कावुसोगलुले यसअघि टर्की र रुसले योजनाअनुसारको संघर्षविरामको ग्यारेन्ट लिएको जानकारी दिएको छ। यो संघर्ष विराम इस्लामिक स्टेट र जाभात फतेह अल साम (पूर्व नुसरा फ्रन्ट)माथि लागू नहुने टर्कीको एक सूत्रले जनाएको छ।

रुस र टर्की दुवै देश सिरियामा फरक फरक पक्षलाई समथन गर्दै आइरहेका छन्। टर्कीले विद्रोही समूहको समर्थन गरिरहेको छ भने रुस सिरियाली सरकारको समर्थन गर्दै आइरहेको छ। सिरियामा विगत ५ वर्षभन्दा लामो समयदेखि संघर्ष चलिरहेको छ।

यसै महिनाको शुरूमा अलेप्पोबाट हजारौं विद्रोही लडाकू र आमनागरिक शहर छोडेर बाहिर गएका थिए र सिरियाली सरकारी सुरक्षा बलले शहरलाई आफ्नो कब्जामा लिएका थिए।

यसअघि यो वर्ष गरिएको संयुक्त राष्ट्र संघ समर्थित संघर्ष विरामको पहल असफल भएको थियो। तुर्केली विदेश मन्त्रालयले सिरियामा रहेका समूहमाथि प्रभाव रहेका सबै राष्ट्रका लागि युद्धविरामलाई लागू गराउने तथा त्यसमा समर्थन जुटाउने गम्भीर चुनौती रहेको जनाएको छ। यसमा निश्चितरूपमा वासिङटनको समर्थन खोजिएको प्रष्ट देखिन्छ।

पुटिनको घोषणामा सिरियाली सरकार र सशस्त्र विपक्षीबीच युद्धविरामको सहमति भएको र उक्त सहमति शान्तिवार्ता थाल्नका लागि भएको उल्लेख गरिएको छ। पुटिनले सहमति अत्यन्त नाजुक स्थितिमा रहेको बताए। तर रुसको रक्षा तथा विदेश मन्त्रालयले मस्कोका त्यस क्षेत्रका साझेदारहरूसँग गरेको कामको नतिजाका रूपमा उक्त सहमतिको प्रशंसा गरे।

पुटिनले सिरियामा रुसी सैन्यको उपस्थितिमा कटौती गर्ने रक्षा मन्त्रालयको प्रस्तावलाई पनि स्वीकृति दिएको बताए। तर मस्कोले अन्तर्राष्ट्रिय आतंकवादविरुद्धको युद्ध र सिरियाली सरकारका लागि समर्थन जारी राख्ने उनले थपे। सिरियाली विपक्षी नेसनल कोलिसनका प्रवक्ताले एएफपीलाई गठबन्धनले युद्धविरामलाई समर्थन गरेको बताए।

प्रतिक्रिया दिनुहोस्