राष्ट्रिय अभिभावकको आवश्यकता




भ्रष्टले भ्रष्टलाई र भ्रष्ट्रलाई भ्रष्टले जोगाउन खोज्दा राष्ट्र नै धरापमा परेकाले राष्ट्र बचाउने राष्ट्रचिन्तक राजनेता चाहियो । किनकि अन्य देशको आयातीत शिक्षा नेपालका लागि उपयोगी हुँदैन । यस विकासोन्मुख राष्ट्रलाई अन्य विकसित राष्ट्रको दाँजोमा दाँज्न सक्ने कुरै भएन । यस राष्ट्रमा रहेका वा अन्य राष्ट्रमा छरिएर रहेका नेपालीलाई यो राष्ट्रको भौगोलिक बनावटअनुसारको शिक्षा आर्जन गराउनुपर्यो । अनि योग्यताअनुसार रोजगारको सृजना गरी विकास गर्नुपर्यो । त्यसैले यस राष्ट्रलाई विकसित शक्ति सम्पन्न राष्ट्रको दाँजोमा पुर्याउन सक्ने राष्ट्रचिन्तक राजनेता चाहियो ।

यहाँका नेताहरू व्यक्तिगत स्वार्थ परित्याग गरी राष्ट्रिय स्वार्थमा परिणत हुनुपर्यो । राष्ट्रिय जनशक्ति एकीकृत गराई आर्थिक क्रान्तिमा परिचालन गर्नुपर्यो । राष्ट्रमा भएका विषयगत विशेषज्ञ, शिक्षाविद्, कानुनविद्, वैज्ञानिकको खोजी गरी आर्थिक क्रान्ति शुरु गर्नुपर्यो । यसका लागि पनि विकसित शक्ति सम्पन्न राष्ट्रको दाँजोमा पुर्याएर तिनीहरूको दाँजिन सक्ने राजनीतिक नेता चाहियो ।

परनिर्भरतामा बाँच्नु भनेको हातखुट्टा नभएको वा आँखा नभएकोले हो । त्यसैले यस राष्ट्रमा भएका साधन–स्रोतसहित जनपरिचालन गरी शक्ति सम्पन्न राष्ट्रको रुपमा पुर्याउन सक्ने नेता चाहियो । जबसम्म जनशक्तिको एकता हँुदैन तबसम्म राष्ट्र बलियो र मजबुत बन्दैन । हाम्रो नेपाललाई दुई ढुंगाबीचको तरुल भन्छन् । त्यो तरुल मीठो हुन्छ । त्यो मीठो तरुल जोगाउन छिन्नभिन्न जनशक्ति र सिद्धान्तले सक्दैनन् । तसर्थ सम्पूर्ण जनशक्ति एकढिक्का गराई राष्ट्रिय आर्थिक क्रान्ति गरेर राष्ट्रलाई समृद्ध र बलियो बनाऔं भन्ने सोच भएको राष्ट्र चिन्तक राजनेता चाहियो ।
–कृष्ण प्रसाद पौडेल
जफे–६, दोलखा
हालः चमती, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्