कृष्णनगरमा गोली चल्दा दुई प्रहरी हवल्दार घाइते



कपिलवस्तु, १४ पुस । कृष्णनगर भन्सार नाका नजिकैको लक्ष्मीनगर नाकामा आज अपरिचित व्यक्तिले चलाएको गोलीबाट दुई प्रहरी घाइते भएका छन् ।
भन्सार क्षेत्र नजिकको सो दशगजा क्षेत्रमा गोली चल्दा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा एयरगनको गोली जस्तो देखिने छर्राहरु भेटिएको र एयरगनको गोलीबाट प्रहरी हवल्दारहरु घाइते भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको प्रहरी उपरीक्षक भोजजङ्ग शाहीले बताउनुभयो ।

भारतीय प्रहरीको सहयोगसमेत लिएर नेपाल–भारत दुवैतर्फको सीमा क्षेत्रमा कडाइ गरिएको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो । घाइते दुवैजनाको अवस्था सामान्य रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्