प्रहरीका दिनेशलाई स्वर्ण



कविरस शर्मा, झापा

सातौं राष्र्टिय प्रतियोगिता अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा जारी सञ्चालन बक्सिङ खेलमा बुधबार नेपाल प्रहरीका दिनेश श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

पुरुष लाइटवेट ६० केजी तौल समूहमा नेपाल प्रहरीका दिनेश श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । एपीएफका दिनेश चन्द घाइते भएर खेल त्यागेपछि श्रेष्ठले वाकओभरका आधारमा स्वर्ण पदक जितेका हुन् । यसअघि थुप्रै पटक ५६ केजी तौल समूहमा नेपाल च्याम्पियन बनिसकेका दिनेशले यस पटक ६० केजी तौल समूहमा पनि भिडेर स्वर्ण जितेका हुन् ।

त्यसैगरी सेनाको त्रिभुवन आर्मी क्लबले ५ स्वर्ण पदक हात पार्दा ३ स्वर्ण जित्दै सशस्त्र प्रहरीको एपीएफ क्लवले सेनालाई पछ्याइरहेको छ । यता मध्यमाञ्चल विकास क्षेत्रले पनि एक स्वर्ण आफ्नो पोल्टामा पारेको छ । बुधबार भएको महिला लाइट फ्लाइवेट ४६–४८ केजी तौल समूहमा सेनाकी ललिता महर्जनले सशस्त्रकी दिवाना शेर्मालाई अंकका आधारमा पराजित गर्दै बक्सिङमा स्वर्णको खाता खोलेकी थिईन् । निकै प्रतिस्पर्धात्मक भिडन्तमा ललिताले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भइन् । त्यसैगरी महिलाकै फ्लाइवेट ४८–५१ केजी तौल समूहमा एपीएफकी माला राईले सेनाकी गीता थापा मगरलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारिन् ।

महिलाकै वेन्टमवेट ५१–५४ केजी तौल समूहमा सेनाकी विमला श्रेष्ठले सशस्त्रकी प्रमिला पाण्डेलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जित्न सफल भइन् । महिला फेदरवेट ५४–५७ केजी तौल समूहमा सेनाकी निरु गुरुङले स्वर्ण जितिन् । फाइनलमा उनले एपीएफकी माया चौधरीलाई अंकका आधारमा पराजित गरिन् । महिला लाइटवेट ५७–६० केजी तौल समूहमा एपीएफकी सरस्वती राना मगरले सेनाकी सोनम राईलाई पराजित गर्दै स्वर्ण जित्न सफल भइन् । निक्कै प्रतिस्पर्धात्मक खेलमा सरस्वतीले अंकका आधारमा विजयी भइन् ।

त्यसैगरी पुरुष लाइट फ्लाइटवेट ४९ केजीभन्दा माथिको तौल समूहमार्फत सुशील थापाले मध्यमाञ्चल विकास क्षेत्रलाई बक्सिंगको पहिलो स्वर्ण दिलाए । स्वर्णको लागि भएको भिडन्तमा उनले सेनाका सुभाष विकलाई अंकका आधारमा पाखा लगाएका थिए । पुरुषकै ५२ केजी तौल समूहमा सेनाका प्रेम चौधरीले स्वर्ण जिते । उनले एपीएफका विक्रम परियारलाई अंकका आधारमा पराजित गर्न सफल भए ।

पुरुषकै ५६ केजी तौल समूहमा एपीएफका पुरन राईले पनि स्वर्णमा आफ्नो नाम लेखाए । उनले सेनाका विमल रोकालाई अंकका आधारमा पराजित गरेका थिए । पुरुषकै लाइट वेल्टर ६४ केजी तौल समूहमा सेनाका दीपक श्रेष्ठले जित हासिल गरे । उनले प्रतिस्पर्धात्मक खेलमा नेपाल प्रहरीका भूपेन्द्र थापालाई अंकका आधारमा पराजित गरे । भोलि महिलाको चार बाउट र पुरुषको ६९, ७५, ८१, ९१ र ९१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्