उद्योग बाणिज्य संघको चुनावमा भिडन्त



ललित सिंह, बझाङ

उद्योग बाणिज्य संघ बझाङको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा बुधबार भिन्डत भएको छ। मतदाता सूचीका विषयमा विवाद चर्किएपछि भिडन्त भएको थियो।

उद्योगी व्यवसायीबीच भएको भिडन्तमा चुनावको सुरक्षार्थ खटिएका प्रहरी जवान प्रकाश भण्डारीसहित तीन व्यवसायी घाइते भएका छन्। घाइते हुने व्यवसायीमा कलक खड्का, रामबहादुर सिंह, जग्गु कडायत रहेका छन्। यस्तै मतदान केन्द्रमा रहेका कुर्सी टेबुल, तोडफोड भएको छ। पुस १० गते उद्घाटन भएको संघको १२औं साधारणसभा तथा चौंथो जिल्ला अधिवेसनमा सहमति नभएपछि दुई प्यानबीच चुनावी प्रतिस्पर्धा भएको छ।

नेपाली कांगे्रस समर्थक र नेकपा माओबादी केन्द्र समर्थक व्यवसायीले सहमति गरेर दानबहादुर सुर्मेलीको नेतृत्वमा प्रतिस्पर्धामा उत्रिएको छन्। त्यस्तै नेकपा एमाले समर्थक व्यवसायीले निवर्तमान अध्यक्ष जगत मल्लको नेतृत्वमा प्रतिस्पर्धामा उत्रिएको छ। १ हजार ४९ साधारण सदस्य रहेको संघको चुनावमा ३ सय ४० मत खसेपछि मतदाता सूचीको विषयलाई लिएर विवाद भएको प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डारीले जनाकारी दिनुभयो।

प्रहरी निरीक्षक भण्डारीका अनुसार चलिरहेको निर्वाचनमा एकाएक ढुंगामुडा भएर निर्वाचनस्थल नै तोडफोड भएपछि निर्वाचन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले निर्वाचन स्थागित गर्नुभएको थियो। निर्वाचन अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्