बल्ल पर्यटन रोयल्टी बाँडफाँड



सन्तोष अधिकारी, गोरखा

जिल्ला विकास समितिमा केही वर्षदेखि बाँडफाँड हुन नसकेको पर्यटन रोयल्टी बल्ला बाँडफाँड भएको छ। जिल्ला विकास समितिमा भएको राजनीतिक परामर्श समितिको बैठकपछि रोयल्टी बाँडफाँड भएको हो।

राजनीतिक दलहरूबीच विवाद हुँदा पर्यटन रोयल्टी केही वर्षदेखि बाँडफाँड हुन सकेको थिएन। पर्यटन प्रवेश शुल्क तथा पर्वतारोहण रोयल्टी बापत प्राप्त ३ करोड ५५ लाख ७६ हजार ४ सय ८ रुपियाँ जिल्लाको पर्यटन विकासका लागि विभिन्न शीर्षकका लागि विनियोजन गरिएको हो। स्थानीय विकास अधिकारी नारायण आचार्यको पहलमा राजनीतिक परामर्श समितिको मंगलबार र बुधबार बसेको बैठकले गोरखा जिल्लामा अहिलेसम्म प्राप्त सबै रकम विनियोजन गरिएको योजना अधिकृत सतिश कुमार भट्टराईले जानकारी दिनुभयो। ‘जिल्ला विकास समितिमा पर्यटन प्रवद्र्धनका लागि आएको उक्त रकम बाँडफाँड गरियो’ भट्टराईले भन्नुभयो ‘लामो समयदेखि दलहरूबीच सहमति हुन नसकेपछि त्यत्तिकै रहेको थियो। बैठकले गोरखाको तीन वटै निर्वाचन क्षेत्रमा रकम विनियोजन गरिएको हो।’ बैठकले क्षेत्र नम्बर १ मा विभिन्न शीर्षकमा १ करोड, क्षेत्र नम्बर २ मा १ करोड र क्षेत्र नम्बर ३ मा १ करोड ३० लाख रुपियाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो। जसमध्ये क्षेत्र नम्बर १ मा गोरखा पर्यटन सूचना केन्द्र सुदृढीकरण तथा व्यवस्थापनका लागि ५ लाख, चिल्ड्रेन पार्क भौतिक पूर्वाधार तथा व्यवस्थापन गर्न ४० लाख, गोरखा नगरपालिका छेपेटारमा रहेको गुम्मा भवन निर्माण गर्न १० लाख रुपियाँ विनियोजन गरिएको भट्टराईको भनाइ छ।

त्यस्तै फुजेलको भैरवी स्थान मन्दिर पुनर्निर्माण, अस्राङमा सल्लाघारी पर्यटकीय पार्क निर्माण, बोर्लाङको शिव मन्दिर निर्माण तथा मर्मतलगायतका अन्य शीर्षकमा बजेट विनियोजन गरिएको छ। त्यस्तै क्षेत्र नम्बर २ मा भच्चेक सिरानडाँडा दूधपोखरी पर्यटकीय पदमार्ग निर्माण तथा स्तरउन्नती, अकला मन्दिर पुनर्निर्माण, झ्याल्ला भूमेस्थान भौतिक पूर्वाधार निर्माण लगायतका १३ स्थानमा पर्यटन प्रवद्र्धन विकास गर्न बजेट विनियोजन गरिएको जिल्ला विकास समिति गोरखाले जनाएको छ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा सामागाउँ वडा नम्बर ३ को गुम्बादेखि वीरेन्द्रतालसम्मको पदमार्ग निर्माण गर्न ७ लाख, स्वाँरा गाविस ७ मा हिमाली समाज ककालिङ सार्वजनिक गुम्बा निर्माणका लागि ४ लाख, बारपाकको नारदपोखरी जाने सिर्दीखोलामाथिदेखि कुण्डसम्मको पदमार्ग निर्माणका लागि १५ लाख बजेट विनियोजन भएको हो। क्षेत्र नम्बर ३ का लागि छुट्याइएको रकमबाट १८ वटा क्षेत्रमा पर्यटन विकासमा टेवा पुग्ने गरी बजेट छुट्याइएको हो।

प्रतिक्रिया दिनुहोस्