रुसविरुद्ध सजाय तोक्ने ह्वाइट हाउसको तयारी



वासिङ्टन, (एजेन्सी) अमेरिकी चुनावमा दखल अन्दाजी पुर्याएको आरोप लागेका रुसमाथि सजायँ तोक्ने ह्वाइट हाउसले तयारी गरिरहेको वासिङ्टन पोस्टले जनाएको छ ।

नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै उक्त अखबारले आर्थिक नाकाबन्दी र कुटनितिक सेन्सर लगायत सजायँका ठुप्रै कदमहरुलाई लिएर छलफल चलिरहेको उल्लेख गरेको छ । अर्को तरिकामा साइबर कारवाहीपनि समावेश रहेको ती अधिकारीहरुले बताए ।

रुसले बेहोर्नु पर्ने परिणामलाई कसरी सुनिश्चित गर्ने विषयमा काम गर्न ओबामा प्रशासन लागेको पोस्टले जनाएको छ । ओबामाले सन् २०१५ मा दिएको एउटा आधिकारीक निदेर्शनमा कुनै पनि विदेशी साइबर हमलाको उपयुक्त जवाफ दिने अधिकार आफुसँग भएको उल्लेख गरेका थिए । तर त्यसले इलेक्टोरल प्रणालीलाई प्रभावित पार्ने प्रयासलाई नसमेटेको पोष्टले जनाएको छ ।

रुस र त्यहाँका राष्टपति भ्लादिमिर पुटिन चुनावी दखलअन्दाजीको आरोपको केन्द्रमा रहेको छ । डेमोक्र्याटिक पार्टी विरुद्धको साइबर हमलाले नोभेम्बरको चुनावमा राष्टपति निर्वाचित डोनाल्ड ट्रम्पलाई विजयी हुन सहयोग पुर्याएको थियो ।

डेमोक्र्याटिक पार्टीसँग सम्बद्ध संगठन, उसको उम्मेदवार हिलारी क्लिन्टन र उनका केहि चुनावी कार्यकर्ताहरु चुनावलाई लिएर पटकपटक ह्याकर्सहरुको निसानामा परेका थिए । चोरिएका डकुमेन्ट तथा इमेलको सार्वजनिक हुनुले पार्टी र क्लिन्टनका लागि निक्कै समयसम्म अप्ठ्यारो पारेको थियो ।

गृह सुरक्षा विभागका तथा राष्टिय गुप्तचर निर्देशकको कार्यालयले गत अक्टोबरमा औपचारिक रुपमै उक्त साइबर हमलाको सुत्रधार रुस भएको आरोप लगाएको थियो । एफबीआइले पनि यसैमहिनाको सुरुमा त्यसमा सहमति जनाउँदै रुसी ह्याकर घटनामा संलग्न रहेको सीआइएको आंकलनको पुष्टि गरेको थियो ।

रुसको ह्याकिंग प्रकरणको पुर्ण अनुसन्धान डीएनआइले गरिरहेको छ । ओबामाले सन् २००८ को राष्टपतिय निर्वाचन देखिका घटनामा सम्भावित हस्तक्षेपको अनुसन्धान गर्न निर्देशन दिएका छन् । ओबामा प्रशासन भित्रका अधिकारीहरुलाई उदृत गर्दै पोस्टले क्रेमलिन विरुद्धको कुनै पनि सजायँबाट ट्रम्प प्रशासनलाई फिर्ता हुनबाट रोक्न उक्त कदम चालिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्