गलत पुरुषको शुक्राणुबाट २६ महिला गर्भवती



आम्स्टर्डम, (एजेन्सी) नेडरल्यान्डमा एउटा आईभीएफ सेन्टरले उनीहरुकोमा उपचार गरिरहेका २६ महिला गलत पुरुषको शुक्राणुबाट गर्भवती भएको हुनसक्ने खुलासा गरेको छ ।

युट्रेच युनिभसिटी मेडिकल सेन्टरले सन् २०१५ अप्रिलदेखि सन् २०१६ नोभेम्बरको बीचमा भएको प्रक्रियागत गडबडीका कारण त्यसरी फरक पर्न गएको जनाएको छ । २६ दम्पतीले उपचार गराएकोमा तीमध्ये आधी जोडीको गर्भधारण भइसकेको वा उनीहरुको बच्चा नै जन्मिसकेको हुन सक्ने सेन्टरले जनाएको छ ।

मेडिकल सेन्टरले उनीहरुलाई यसको सूचना दिइसकेको छ । सेन्टरले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यूएमसीको बोर्ड ती दम्पतीहरुलाई यो सूचना दिनुपरेकामा माफी माग्दछ ।’

उक्त विज्ञप्तिअनुसार निशेचनका क्रममा २६ अन्य जोडीको अण्डाणुसँग उपचार गराइरहेका एउटा दम्पतीको शुक्राणुसँग सेचन भएको हुन सक्छ । त्यसैले अण्डाणुसँगको शेचन पिता बन्न चाहेका पुरुषको शुक्राणुबाट नभएपछि अर्कै पुरुषको शुक्राणुबाट भएको अनुमान गरिएको छ ।

मेडिकल सेन्टरले यस प्रकारको गल्तीको सम्भावना कम भएको तर त्यसलाई अस्वीकार गर्न पनि नसक्ने जनाएको छ । सन् २०१२ मा सिंगापुरमा एक जना महिलाले एउटा क्लिनिकमा उनका पतिको शुक्राणुमा अज्ञात व्यक्तिको शुक्राणुसँग मिसाएको मुद्दा हालेकी थिइन् । चिनियाँ मुलकी ती महिलाले आफ्नो बच्चाको छाला र कपालको रंग आफ्ना ककेसियन मूलका पतिको भन्दा फरक पाएपछि त्यस्तो शंका गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्