हात्ती आतंकबाट १ को मृत्यु, ४ घाइते



विष्णु तिमिल्सिना, बर्दिया
पुस १३ गते एकाबिहानै ६⁄७ बजेको समयमा जिल्ला बर्दियाको पश्चिमोत्तर क्षेत्रको मनाउ गाविस–५ पर्सेनी बजारमा जंगली हात्ती ३ वटा आई स्थानीयलाई आक्रमण गर्दा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन्। गम्भीर घाइते भएका २ जनालाई एम्बुलेन्सद्वारा बाँकेको मेडिकल कलेज कोहलपुरमा लगिएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ।

हात्तीको आतंकबाट बर्दिया मनाउ–६ घर भई पर्सेनी बजारमा पसल गरी बस्ने वर्ष ३१ की विमला परियारको मृत्यु भएको भने सोही गाविस–८ नौरंगागाउँ बस्ने वर्ष ५६ का रामप्रसाद लामिछाने र वडा नं. २ लाहोरपुर गाउँ बस्ने वर्ष १४ को दिनेश सिंह ठकुरी घाइते भएका छन्। लामिछाने बिहानै दूध बेच्न पर्सेनी बजारतिर आइरहेको अवस्था र ठकुरी घरबाट ट्युसन पढ्न आएको अवस्थामा हात्तीले आक्रमण गरेको हो। त्यसै गरी २ जना सामान्य घाइते हुनेमा खगेन्द्र र गौतम र उनका ५ वर्षका छोरा सिद्धार्थ गौतम रहेका छन्। उनीहरूको स्थानीय स्तरमै उपचार भएको छ। उनीहरूलाई ३ पटकसम्म हात्तीले आक्रमण गर्दा पनि बच्न सफल भएका छन्।

त्यसै गरी हात्तीको आतंकबाट ३ वटा घर पूरै ध्वस्त भएका छन् भने १२ घरमा सामान्य क्षति पुगेको छ। साथै १ भैंसी, १ गाई र १ राँगो मरेका छन् भने भैंसी १ र गोरु ६ वटा घाइते भएका छन्। घाइते पशुहरूको अवस्था पनि चिन्ताजनक रहेको स्थानीयले बताएका छन्।

मृतकका परिवारलाई दाह संस्कारका लागि ३० हजार मध्यवर्ती क्षेत्र विकास कोषबाट उपलब्ध गराइएको र घाइतेहरूको उपचारको व्यवस्था भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु संरक्षक रमेश थापाले बताउनुभयो। मृतकका परिवारलाई ५ लाख रुपियाँ नेपाल सरकारबाट उपलब्ध गराइने तथा क्षतिको मूल्यांकनका आधारमा पशुधन तथा घरको पनि राहत उपलब्ध गराइने उहाँले बताउनुभयो। गेरुवा नदीको किनारमै रहेको उक्त ठाउँमा हात्तीहरूको आतंकपछि स्थानीयबासी आतंकित भएका छन्।

साथै सो स्थानतर्फ आवश्यक सुरक्षार्थ नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्