शैक्षिक सुधारका लागि नयाँ रणनीति अब ‘सम्झौता’ मा प्रधानाध्यापक



कुमार श्रेष्ठ, बाँके
शिक्षा मन्त्रालयले शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि ‘सम्झौता’ मा प्रधानाध्यापक राख्ने रणनीति बनाएको छ। मन्त्रालयले त्यसका लागि प्रधानाध्यापकको अलग्गै दरबन्दी सिर्जना गर्ने नीतिगत निर्णय गरिसकेको छ।

मन्त्रालयका सहसचिव एवं शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रमुख डा. लेखनाथ पौडेलले प्रधानाध्यापकलाई बढी पावर दिएर क्रियाशील गराउदा शैक्षिक गुणस्तर सुधारिन्छ भन्ने निष्कर्षमा पुगेको बताउनुभयो।

‘प्रधानाध्यापकले अगाडि सारेका भिजनलाई हेरेर ऊसँग छुट्टै सम्झौता गर्छौं। भनेको समयमा सुधारियो भने सम्झौताले निरन्तरता पाउँछ नत्र भने तोडिन्छ’, सहसचिव डा. पौडेलले भन्नुभयो– ‘यस्ता प्रधानाध्यापक अनुभवी र बाहिरका पनि हुन सक्छन्।’

मन्त्रालयले अर्को वर्षदेखि यो नयाँ उपाय कार्यान्वयन गर्ने जनाएको छ। शिक्षामा अनुभव भएका व्यक्तिसँग उसको योजना हेर्ने र निश्चित अवधि काम गर्न दिने नीतिलाई अघि सारिएको हो। सहसचिव डा. पौडेलले शिक्षाको गुणस्तर सुधारका लागि सम्झौतामा प्रधानाध्यापक राख्नेदेखि शिक्षकलाई नियमित बनाउने, उसको क्षमता विकास गर्ने, मावि दरबन्दी थप्नेलगायतका कामहरू गर्ने तयारी भएको बताउनुभयो।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले नेपालगञ्जमा आयोजना गरेको दुई दिने मध्य र सुदूरपश्चिमका जिल्ला शिक्षा अधिकारी तथा योजना अधिकृतको सिकाइ आदानप्रदान राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सहसचिव एवं केन्द्रका प्रमुख डा. पौडेलले कमजोरी पत्ता लगाउने र सुधारका योजना बनाउने बताउनुभयो।

शिक्षा विभागले अध्ययन, अनुसन्धानमा मध्यपश्चिम सबैभन्दा पछाडि रहेको छ। त्यसपछि सुदूरपश्चिम, पूर्वाञ्चल, उपत्यकालाई छोडेर मध्यमाञ्चलको अवस्था कमजोर रहेको छ। पश्चिमाञ्चल सबैभन्दा राम्रो रहेको छ।

सहसचिव डा. पौडेलका अनुसार, शैक्षिक गुणस्तर राम्रो नहुनुमा शिक्षक र विद्यार्थी नियमित नहुनु एक नम्बर कारण हुन्। शिक्षकले आफ्नो दायित्व पूरा नगर्ने र अरूलाई दोष दिने चलन छ। त्यसपछि समयमा पाठ्यपुस्तक नपुग्ने, अस्थायी दरबन्दी लिएर स्कुल चलाउने, विषयगत शिक्षकको अभावजस्ता कारणहरू छन्।

शिक्षा विभागका उपनिर्देशक विष्णुप्रसाद अधिकारीले शैक्षिक गुणस्तरका लागि गरिबी, बहुसांस्कृतिक संवेदनशीलता, नेपाली जीवनशैलीलगायत चुनौती रहेको बताउनुभयो। केन्द्रका उपसचिव प्रल्हाद अर्यालले उमेर बढ्दै जाँदा सिकाइ उपलब्धि घट्दै गएको अध्ययनले देखिएको बताउनुभयो। भौगोलिक, जातीय, लैंगिक कारणहरूले सिकाइमा पारेको प्रभावका बारेमा पनि अर्यालले चर्चा गर्नुभयो। अध्ययनमा मध्यपश्चिम गणितमा अझ कमजोर देखाएको छ। भक्तपुरमा ६० प्रतिशत हुँदा डोल्पामा १२ प्रतिशत सिकाई उपलब्धी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्