८ अर्ब ठगेका फरार अभियुक्त सुधीर बस्नेत पक्राउ



काठमाडौं, (नेस) बैंक तथा सर्वसाधारणको झन्डै ८ अर्ब रुपियाँ ठगेर फरार भएका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न बैंकको १ अर्ब ६० करोड र सहकारी तथा सर्वसाधारणका झन्डै ७ अर्ब ठगी गरेका बस्नेतलाई प्रहरीले धापासीबाट पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५० लाख जरिवाना गरेपछि फरार भएका बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई झन्डै १ वर्ष लागेको थियो।

अदालतले कैदको फैसला गरेपछि भारतका विभिन्न शहरमा लुकेर बसेका बस्नेत काठमाडौं आएको थाहापाएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको थियो। अदालतको फैसला कार्यान्वयन गराउने क्रममा प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौं पठाउने भएको छ।

कोहिनुर हिल हाउजिङ एन्ड कोहिनुर बिल्डर्सका नाममा विभिन्न बैंकबाट बस्नेतले १ अर्ब करोड ६० रुपियाँ लिएका थिए। राष्ट्रिय वाणिज्य बैंकबाट लिएको २१ करोड ७१ लाख रुपियाँ अझै तिर्न सकेका छैनन् भने कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपियाँ पनि भुक्तानी गरेका छैनन्।

नबिल बैंकको १४ करोड ६ लाख रुपियाँ बस्नेतले तिर्न नसकेपछि कालोसूचीमा नाम निकालेको छ। विभिन्न जग्गा देखाएर सर्वसाधारणसँग उठाएको रकम तिर्न नसकेपछि बस्नेत पीडितहरूले संघर्ष समिति नै गठन गरेर सरकारको ध्यानाकर्षण गराएका थिए। तर, सरकारले पीडितको आवाज सुन्ने काम नगरेपछि उनीहरू निरास छन्।

प्रतिक्रिया दिनुहोस्