पढाइ बन्द गरेर मेला सञ्चालन



दीपेन्द्र शर्मा, जाजरकोट
यः नियमित पढाइ नहुने जाजरकोटका विभिन्न सरकारी तथा निजी विद्यालयको यस वर्षको पढाइ पनि जाजरकोटको रमाइलो मेलाले अलपत्र बनाइदिएको छ। व्यापारीहरू आफ्नो व्यापार व्यवसाय फस्टाउने आशाले खुसी भएका बेला जिल्लाका परीक्षाको पर्खाइमा रहेका सयौं विद्यार्थी भने निराश भएका छन्।

भेरी मालिका नगरपालिका जाजरकोटको त्रिभुवन उच्च मावि खलंगाको प्रांगणमा बुधबारदेखि शुरू भएको मेलाका कारण उक्त विद्यालयको कक्षा ६ देखि १२ मा पढ्ने झन्डै २ हजार विद्यार्थीको पढाइ एक हप्ताका लागि बन्द भएको छ भने भेरीमालिका नगरपालिका र आसपासका गाविसका विद्यालय पनि मेलाकै कारण बन्दजस्तै भएका छन्। विद्यालय बन्द हँुदा १० हजार बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ। मेलाको बहानामा शिक्षकहरूले पढाउन छोडेपछि विभिन्न परीक्षाको तयारीमा रहेका विद्यार्थी अन्योलमा परेका हुन्। सयौं विद्यार्थीको पढाइ लामो समय अलपत्र हुन पुगेको छ। सदरमुकामभित्र मात्र होइन जिल्लाका दुर्गम गाउँमा समेत मेलाकै कारण पठनपाठनमा असर परेको छ।

‘सबैभन्दा बढी पढाइ हुने महिना भनेकै मंसिर र पुस हुन् त्यही पनि मेला, विभिन्न पार्टीका राजनैतिक कार्यक्रम र अन्य विभिन्न कार्यक्रमले एक महिना रोक्यो कति बेला पढ्ने खै?’ –त्रिभुवन उच्च मावि खलंगाका कक्षा १० का विद्यार्थी गोपाल वलीले भने। मेलाकै कारण त्रिभुवन उच्च मावि खलंगाको लामो समय पढाइ नहुने निश्चित भएको विद्यार्थी बताउँछन्।

जिल्लामा सभा समारोह तथा मेला आयोजना गर्ने उचित स्थान नभएका कारण यही विद्यालयमा जिल्लाका सबैजसो कार्यक्रम सञ्चालन हुने गरेकाले विद्यालयलाई समस्या हुने गरेको तथा विद्यालयको पठनपाठनमा बाधा पुग्ने गरेको त्रिभुवन उच्च मावि खलंगाका प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए। जिल्लामा गतिलो सार्वजनिक मञ्च नहुँदा वर्षभरिका राजनैतिक दल तथा अन्यले आयोजना गर्ने विभिन्न सभा समारोह र मेलाका कारण विद्यालयले कहिले पनि कोर्स पूरा गर्न नपाएको प्रधानाध्यापक शाहले बताए।

विद्यार्थी पढाइ प्रभावित हुने भएपछि केही समय अगाडि विद्यालय व्यवस्थापन समितिको बैठकले मेला तथा सभा समारोहलगायतका विभिन्न कार्यक्रमका लागि विद्यालयको फिल्ड उपलब्ध नगराउने र विद्यालयको फिल्डमा मेला लगाउन नदिने निर्णय गरेको थियो। स्थानीय राजनैतिक दल सामाजिक संघसंस्थाको चर्को दबाबपछि विद्यालयले मेलाका लागि फिल्ड उपलब्ध गराउने निर्णय गर्न बाध्य भएको छ। विद्यालयमा नियमित पढाइ भयो भएन, विद्यार्थी समयमा आफ्नो किताबको पूरा कोर्स पढ्न पाए पाएनन् भन्दा पनि मेला किन नलगाएको भनेर राजनैतिक दल तथा सामाजिक संघसंस्था बढी क्रियाशील भएर दबाब दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाकेन्द्रविक्रम शाहले बताए। जिल्ला स्तरका सबैजसो कार्यक्रम यसै विद्यालयमा भएर विद्यालयको पढाइ प्रभावित हुँदा त्यसतर्फ कसैको ध्यान नपुगेको भन्दै नचाहिने कुरामा बढी दबाब आउने गरेको शाहले बताए। चर्को दबाबपछि विद्यालयले अब अन्तिमपटकका लागि भनेर यसपटक विद्यालयको प्रांगण उपलब्ध गराएको विद्यालयले जनाएको छ।

जिल्लास्थित विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थासहित सर्वपक्षीय टोलीले ऐतिहासिक रूपमा लाग्दै आएको मेलालाई बन्द गर्नुभन्दा पनि जिल्लाको आर्थिक समृद्धि, कला संस्कृतिको जगेर्ना र जनचाहनाबमोजिम रमाइलो मेलाका लागि विद्यालयले फिल्ड उपलब्ध गराउनुपर्ने आग्रह गरेको नेपाली कांग्रेस जाजरकोटका सभापति दीपकजंग शाहले बताए।

परम्परागत रूपमा लामो समयदेखि लाग्दै आएको रमाइलो मेला नलाग्ने निर्णय हुँदा जिल्लाका व्यापारीहरू निराश भएका थिए। विद्यालयमा अन्तिमपटक मेला आयोजना गर्न दिने भएपछि आफ्नो व्यापार व्यवसायमा राम्रो किनमेल हुने भएपछि निराश भएका व्यापारी खुसी भएका छन। स्वर्गीय पूर्वराजा वीरेन्द्रको जन्मदिनको अवसरमा प्रत्येक वर्षको पुस १३, १४, १५ र १६ गते मेला लाग्दै आएको थियो। सदरमुकाममा १० गतेदेखि नै मेला लाग्ने गरे पनि योपटक भने १२ गतेदेखि १६ गतेसम्म लाग्ने भएको छ। विद्यालयले मेलाका लागि फिल्ड उपलब्ध गराएबापत १ लाख आम्दानी गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्