परराष्ट्र नीतिबारे सबैको साझा धारणा हुनुपर्छः मन्त्री महत



काठमाडौं, (नेस) परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मुलुकको परराष्ट्र नीतिबारे सबै राजनीतिक दल र सबै पक्षबीच एउटै साझा धारणा हुनुपर्ने बताउनुभएको छ।

परराष्ट्र नीतिलाई समयअनुकूल परिमार्जन गर्न आवश्यक भएको उहाँको भनाइ छ। बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले परराष्ट्र नीति परिमार्जन गर्न सम्बन्धित क्षेत्रका विज्ञ संलग्न कार्यदल छिटै बन्ने बताउँदै भन्नुभयो– ‘कार्यदल कुनै पार्टीगत स्वार्थमा केन्द्रित हुँदैन, कार्यदलले तयार पारेको रिपोर्टअनुसार परराष्ट्र नीति परिमार्जन हुन्छ।’ नेपालले राष्ट्रिय आवश्यकता र स्वार्थलाई जोड दिँदै छिमेकी मुलुकहरूसँग सन्तुलित र विशेष सम्बन्ध राख्न अपरिहार्य रहेको उहाँको भनाइ थियो।

चीनसँग विगतमा भएका सम्झौता कार्यान्वय गर्न वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गर्दै मन्त्री महतले उत्तरतर्फका कोदारी र स्याफ्रुबेंसी सडक नियमितरूपमा सुचारु गर्नेबारे चिनियाँ पक्षसँग छलफल भइरहेको बताउनुभयो। ‘विगतमा भएका सम्झौता कार्यान्वयका लागि नेपाल–चीनको सचिवस्तरीय संयन्त्रको बैठकका लागि नेपालले चीनलाई पत्राचार गरिसकेको छ, पक्कै पनि परिणाम देखिन केही समय लाग्छ’ –उहाँले भन्नुभयो। नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतले लिएको चासो र असन्तुष्टि बारे विभिन्न सञ्चारमाध्यममा आएका समाचार गलत भएको मन्त्री महतले दाबी गर्नुभयो।

उहाँले मंगोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्गिल र चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छिपाओको नेपाल भ्रमण एउटै सयममा हुनु संयोग मात्र भएको बताउनुभयो। लामो समयदेखि विभिन्न मुलुकमा रिक्त रहेका राजदूत नियुक्तिमा भइरहेको ढिलाइबारे सोधिएको प्रश्नमा मन्त्री महतले भन्नुभयो– ‘संयुक्त सरकारको कारणले गर्दा राजदूत नियुक्तिमा ढिलो भएको हो, अब भने यो पक्रिया छिटै अघि बढ्छ।’

यसैबीच अर्को फरक कार्यक्रममा बोल्दै मन्त्री महतले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकलाई बेलायतले त्यहाँका सैनिक सरह समान अधिकार र तलब सुविधा दिनुपर्नेमा जोड दिनुभएको छ। नेपाल–बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। संसदीय प्रजातन्त्रको अभ्यासबारे नेपालले बेलायतबाट धेरै कुरा सिकेको स्मरण गर्दै मन्त्री महतले बेलायतले नेपालको विकास निर्माणमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्वकूटनीतिक क्षेत्रका जानकार, पूर्वराजदूतहरू तथा विभिन्न मुलुकका लागि अवैतनिक राजदूतहरू उपस्थित थिए। कार्यक्रममा बोल्दै काठमाडौंस्थित बेलायती दूतावासकी मिसन उपप्रमुख क्याथरिन स्मिटनले दुवै मुलुकका जनताबीच वर्षौं पुरानो भावनात्मक सम्बन्ध रहेको स्मरण गर्नुभयो। परराष्ट्र सचिव शंकरदास बैरागी र प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा पन्नाकाजी अमात्यले नेपाल–बेलायत सम्बन्धका ऐतिहासिक र अन्य पक्षबारे चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्