प्याकेजमै सहमति गरेर अघि बढ्ने माओवादीको निर्णय



काठमाडौं, (नेस)सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको मिति र संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव एकसाथ अगाडि बढाउने निर्णय गरेको छ। प्रस्तावमाथि छलफल अगाडि बढाउँदा निर्वाचन घोषणा गर्ने बाटो खुल्ने भन्दै माओवादीले प्याकेजमै सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको हो।

बुधबार बसेको नेकपा माओवादी केन्द्रको बैठकमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले संशोधन प्रस्तावभन्दा पनि चुनावमा ध्यान दिएको बताउँदै कांग्रेस स्थानीय तहकै निर्वाचनको पक्षमा रहेको बताउनुभएको थियो। उहाँले एमाले संसोधन विधेयक फिर्ता लिनुपर्ने अडान लिएर निर्वाचनलाई रोक्ने खेलमा लागेको प्रचण्डको भनाइ उद्धृत गर्दै नेता मणि थापाले बताउनुभयो। बैठकमा प्रचण्डले मधेसी मोर्चाले संविधान संशोधन विधेयक पास फेल जे भए पनि प्रक्रिया अगाडि बढाउने पक्षमा रहेको जानकारी गराउनुभएको थियो।

बैठकले संशोधन प्रस्ताव र निर्वाचन घोषणालाई एकै साथ लैजानुपर्ने बताइएको छ। सहमति निर्माणका लागि केही दिन छलफल गर्ने, संविधान संशोधन विधेयकलई प्रक्रियाबाट टुंगो लगाउने गरी अगाडि बढ्ने रणनीति माओवादीले लिएको छ।

स्थानीय तहको निर्वाचनतिर नै मुलुकलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकाल्दै स्थानीय निकायको चुनावतिर जाँदा संघीयता कार्यन्वयनमा समस्या आउन सक्ने निष्कर्ष निकालेको छ। माओवादीले संशोधन प्रस्ताव सके सहमतिका आधारमा पारित गर्ने र नसके प्रक्रियाबाट टुंग्याउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्