बाल यौन दुराचारीको जालो



सुरेश तामाङ, काठमाडौं
घटना नं.ः १
नामः माइसेन हेन्ड्रिक वोटो (नेदरल्यान्ड)
मुद्दाः काठमाडौंमा एक बालसुधार गृह सञ्चालन गरी सडक बालकलाई नुहाउने, नुहाएको निहुँमा नाङ्गै राख्ने, नाङ्गो फोटो खिचाउने, बेलुका नाङ्गै सुताउने, अप्राकृतिक मैथुनमा संलग्न गराउने कार्य गरेकाले सर्वोच्च अदालतले २०६९ कात्तिकमा सजाय सुनाएको।

घटना नं.ः २
नामः अर्नेस स्याम्विक म्याकेन्टस् (क्यानडा), वर्षः ६०
२०७१ पुस ४ गते ललितपुरका १५ वर्षीय बालकलाई ३ पटकसम्म जबरजस्ती बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत ललितपुरले ७ वर्ष जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनायो। पछि तत्कालीन पुनरावेदन अदालत पाटनले ७ वर्ष जेल सजाय र ३ लाख रुपियाँ क्षतिपूर्ति भरायो।

घटना नं.ः ३
नामः कोनिक जोसेफ कन्मस (अमेरिका), वर्षः ४८
नामः कोनिकका सहयोगी नेपाली नागरिक स्वयम्भुका चुच्चे भन्ने बुद्ध पुतलर (नेपाल), वर्षः २१
बाल यौन दुराचार (यौन व्यवसाय) मा सक्रिय समूहले होटलमा आउने विदेशी नागरिकलाई मुख मैथुनलगायतका यौन क्रियाकलापमा संलग्न गराउन बालक उपलब्ध गराउँदै आएको छ भन्ने सूचनाका आधारमा उनीहरूलाई ठमेलको यम्बु होटलबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। त्यहाँबाट प्रहरीले ७ जना बालकलाई समेत उद्धार गर्यो भने जुन बालकहरू १२ देखि १६ वर्ष उमेरको रहेको प्रहरीले जनायो। अहिले यो मुद्दा अदालती प्रक्रियामा छ।

यी भए नेपालमा भएका बाल यौन दुराचारका केही चर्चित घटनाहरू। अर्थात् यी घटनाहरू भनेको पुरुषबाट बालकमाथि गरिने यौन दुराचारका प्रत्यक्ष भएका प्रतिनिधि घटनाहरू मात्रै हुन्। जुन घटनामा संलग्न पीडकहरूले जेल सजाय काटिरहेका छन्। अन्य यस्ता किसिमका घटनाहरू समाजमा घटिरहेका छन् जुन घटनाहरू पर्दा पछाडि जस्तै बनेको छ, बाहिर आउनै सकेको छैन। बाल यौन दुराचारसम्बन्धी अभियानकर्ता विश्व वज्राचार्य भन्नुहुन्छ– ‘बाल यौन दुराचारका घटना दिनदिनै बढिरहेका छन् तर बाहिर आउँदैन।’

वा आउनै दिइँदैन। यसको एक किसिमको व्यवसाय नै गरेर बस्नेहरू पनि छन्। जब बालक रोगी हुन्छन् र दुराचारमा पर्छन् अनि मात्रै घटना बाहिर आउँने गरेका छन्।

अझै पनि हाम्रो समाजमा बालक पुरुषबाटै यौन शोषणमा पर्छन् भन्नेमा विश्वास नगर्नाले यस्ता घटनाहरू भएको उहाँको बुझाइ छ। उहाँ भन्नुहुन्छ– ‘यी घटनाहरूले बालिका मात्रै होइन बालक पनि यौन शोषणमा पर्न सक्छन् भनेर समाजलाई सम्झाएको छ। अब समाजले बालक यौन दुराचारमा पर्दैनन् भन्ने मान्यता हटाएर सचेत रहनुपर्ने उहाँको सुझाब छ।’

त्यस्तै, परिवार भित्रैबाट यस्ता खाले घटनाहरू हुने गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘कोही बालकलाई आफ्नो परिवार भित्रै तँ दाइसँग सुत, मामासँग सुत काकासँग सुत भन्छन्। घटना यहींबाट शुरु हुन्छ,’ –उहाँले भन्नुभयो।

समाजमा तेस्रोलिंगी पनि हुन्छन्। यसका क्रियाकलापमा संलग्न तेस्रो लिंगी मात्रै नभई समलिंगी पनि पर्ने गरेका छन्। यस्ता खालका क्रियाकलाप निकै गुप्त रूपमा हुने भएकाले हत्तपत्त बाहिर आउँदैनन्। अभियानकर्ता वज्राचार्यका अनुसार सन् २०१३ देखि हालसम्म ३ सय ६१ वटा बालयौन दुराचारका घटनाहरू बाहिर आए। यसै गरी नेपालमा भएका बाल यौन दुराचारका घटनामा विदेशीहरू मुछिएको देखिए पनि यसमा बढी नेपाली नै मुछिएको देखिएको छ। जसमा तस्कर, कानुन व्यवसायी, परिवारका सदस्य, यौन पर्यटक, राजनीतिज्ञ, समाजसेवी र धार्मिक गुरुहरू छन्।

विशेष गरी कमजोर आर्थिक अवस्था, गरिबी, संगत तथा विभिन्न आर्थिक प्रलोभनमा परेका बालबालिका, दैवी प्रकोपका कारणबाट विभिन्न जोखिममा परेका १८ वर्षमुनिका सडक बालक यौनशोषणमा पर्ने गरेको देखिएको छ। बालयौन दुराचार भन्नाले बयस्कहरूले बालबालिकालाई विभिन्न प्रलोभनमा पारी बालबालिकाको यौनाङ्ग चलाउने ,स्पर्श गर्ने, चुम्बन गर्ने गरेर यौन तृप्ती लिने कार्यलाई भनिन्छ। बाल यौन दुराचारीले बालबालिकालाई विभिन्न यौन क्रियाकलापहरूको चित्र तथा भिडियो देखाएर दबाबमा पारेर यौन शोषण गर्ने गर्दछन्। विशेष गरेर बालयौन दुराचारीहरूले आर्थिक रूपमा कमजोर भएका बालबालिका तथा अन्य बालबालिकाहरूलाई विभिन्न आर्थिक तथा अन्य प्रलोभन देखाएर यौनशोषण गर्दछन्। र यो एक मनोरोगको रूपमा लिएको पाइएको छ। दुव्र्यवहारमा परेको हो वा होइन भन्ने कुरा छोएर गरिने यौन दुव्र्यवहार र नछोएर गरिने यौन दुव्र्यवहारबाट थाहा पाउन सकिने विज्ञहरू बताउँछन्।

बलात्कार, बालबालिकालाई अश्लील चलचित्र बनाएर देखाउने वा यौन व्यवसायको काममा बालबालिकालाई लगाउने, यौनशोषण गर्न खोज्ने व्यक्तिको गुप्तांग बालबालिकालाई कर काप गरी हेर्न वा छुन लगाउने, बालबालिकाको गुप्तांग हेर्ने, बालबालिकालाई अप्ठ्यारो हुने गरी चुम्बन गर्ने, मुख वा हस्तमैथुन गर्ने, अप्ठ्यारो लाग्ने गरी सुम्सुम्याउने र बालबालिकालाई अप्ठ्यारो हुने गरी उनीहरूको यौन अंगहरूमा छुने काम त्यस्ता संदिग्ध मानिसले गर्ने गरेका छन्।
नछोएर गरिने यौन दुव्र्यवहारमा बालबालिकालाई यौन सम्बन्ध गरिराखेको कुरा जानीजानी हेर्न वा सुन्न लगाउने, अश्लील वा छाडा शब्दहरूको प्रयोग गर्ने, अश्लील हाउभाउ देखाउने, बालबालिकालाई छाडा चित्र तथा सामग्रीहरू देखाउने, टेलिफोनबाट अश्लील कुराहरू गर्ने, सामाजिक सञ्जालमार्फत अश्लील चित्र, भिडियो तथा मेसेजहरू पठाउने र सामाजिक सञ्जालमार्फत छाडा सन्देश दिने काम गर्दछन्।

बालबालिकाहरूलाई सुरक्षित राख्नका लागि ,सकेसम्म एक्लै नबस्ने ,कसैलाई पनि बिनाकारण आफ्नो शरीरमा छुन नदिने, कसैले छुन खोजे मन नपरेको प्रतिक्रिया दिने ,जबरजस्ती गर्न खोजेमा झन् ठूलो स्वरमा चिच्याउने, अरूलाई गुहार्ने, आत्मरक्षाका उपाय अपनाउने, अपरिचित व्यक्तिको वा आफूले राम्रोसँग नचिनेको नबुझेको व्यक्तिको भनाइमा नलाग्ने , विदेशी तथा स्वदेशी पर्यटकको आर्थिक प्रलोभनबाट बच्न बालबालिकाई सचेतना दिने ,आफ्नो विश्वासपात्र अभिभावकबाहेक अन्य व्यक्तिसँग सम्बन्ध राख्दा वा उनीहरूसँग हेलमेल गर्दा विचार पुर्याउने तथा कुनै व्यवसायिक काम गर्न बाध्यता छ भने पनि आफ्नो उमेरले सक्दो सुहाउँदो मात्र काम गर्ने र कतै शोषण हुन लागेको अवस्थामा आफू बच्ने, बच्न नसके तत्काल उजुरी गर्ने प्रक्रियामा ध्यान दिनुपर्ने सम्बद्ध विज्ञहरूको भनाइ रहेको छ।

यस्ताखाले जोखिममा परेको अवस्थामा सबैभन्दा पहिले आफ्नो नजिकको व्यतिm (आमा, बुवा, हजुरआमा, हजुरबुवा, शिक्षक, साथी आदिलाई जानकारी दिने, बालबालिकासँग काम गर्ने निकायहरूसँग सहयोग लिने, प्रमाणका लागि अश्लील वार्तालाप वा चित्रहरू सुरक्षित राख्ने, बालबालिकालाई दुःख दिने, सताउनेहरूलाई उतर दिन आवश्यक छैन भन्ने कुरा बुझाउने र बालबालिकामा मनोसामाजिक समस्या देखिएमा मनोसामाजिक मनोविमर्श सेवामा राख्नुपर्ने पनि सम्बद्ध विज्ञ बताउँछन्।

कानुनमा के छ?
मुलुकी ऐन २०२० को महल १४ जवरजस्ती करणीसम्बन्धी ९ क मा लेखिएको छ, कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे, अह्राएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नम्बरबमोजिम हुने सजायमा थप एक वर्षसम्म कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्कासमेत विचार गरी अदालतले अप्राकृतिक मैथुन गर्नेबाट मनासिब माफिकको क्षतिपूर्तिसमेत भराइ दिनुपर्छ।

कानुन व्यवसायी सन्तोष महर्जनका अनुसार मुलुकी ऐनमा जबरजस्ती करणीसम्बन्धी केही कुराहरू उल्लेख भए पनि बालयौन दुराचारसम्बन्धी छुट्टै ऐन बन्नुपर्ने आवश्यकता छ। उहाँका अनुसार, बालयौन दुराचार समाजमा झनै जटिल बन्दै गएको छ। अहिलेको कानुनमा कसलाई कति सजाय दिने भन्ने स्पष्ट पारेको छैन, उहाँले भन्नुभयो– ‘त्यसकारण ऐन अनिवार्य र अपरिहार्य छ।’

प्रतिक्रिया दिनुहोस्