माघको दोस्रो साताबाट दोस्रो झापा गोल्डकप हुने



भद्रपुर, १३ पुस ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको दोस्रो झापा गोल्डकप हुने भएको छ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो झापा गोल्डकप प्रतियोगिता आउदो माघ १५ देखि २४ गते सम्म झापाको बिर्तामोडमा हुन लागेको हो ।

माघ दोस्रो साता हुने गोल्डकपका बारेमा जानकारी दिन बिर्तामोडमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो झापा गोल्डकप हुने झापा गोल्ड कप मुल आयोजक समितिका अध्यक्ष महेन्द्र कुमार गिरीले जानकारी दिए ।

बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने प्रतियोगितामा नेपालका पाँच टीमसहित भारत, भुटान, बंगलादेश, श्रीलंका लगायतका जम्मा १० फुटबल टिमले भाग लिने विषयमा छलफल भइरहेको अध्यक्ष गिरीले बताए ।

पहिलो गोल्डकपको अनुभवबाट सिकेका कुरालाई सुधार गरी दोस्रो गोल्डकप अझ व्यवस्थित बनाइने उनको भनाई छ । उनले यो गोल्डकप झापाको मात्र नभई नेपालकै गौरवको विषय भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सबैमा आग्रह पनि गरेका छन् ।

प्रतियोगितामा विजेता टिमलाई ७ लाख र उपविजेतालाई  साढे तीन लाख नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी १ सय ११ सदस्यीय मूल आयोजक र ५१ सदस्यको सल्लाहकार समिति गठन गरिएको छ । करिब ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य आयस्रोत उद्यमी,व्यवसायी गेट टिकट तथा फुटवलप्रेमीवाट प्राप्त हुने समितिले जनाएको छ ।

जिल्ला फुटबल संघका अध्यक्ष तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले सवैको सहयोगमा कुनै टिका टिप्पणी नगरी खुसी लिएर भव्य र सभ्य तरिकाले गोल्ड कपलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । आयोजक टिमको तर्फबाट झापा ११ प्रतिस्पर्धामा उत्रने उनले बताए ।

महासचिवमा केशव दाहालले सञ्चालन गरेको कार्यक्रमको स्वागत आयोजक समितिका उपाध्यक्ष बलराम कार्कीले गरेका थिए । गत बर्ष चैत १९देखि २७ गतेसम्म प्रथम गोल्ड कप प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्