खुल्ने भो तातोपानी नाका



चीनविरोधी गतिविधि रोक्न आग्रह
नानीराम नेपाल, सिन्धुपाल्चोक
न्धुपाल्चोकमा नेपाल–चीनबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको साता नबित्दै नेपाली अधिकारीहरूलाई खासामा बोलाएर चिनियाँले तातोपानी नाका यथाशीघ्र सञ्चालन गर्ने जनाकारी दिएको छ।

पुस ६ मा सिन्धुपाल्चोकको चौतारामा सम्पन्न सीमा सुरक्षा बैठकमा नेपाली अधिकारीहरूले नाका सञ्चालनको कुरा प्राथमिकताका साथ उठाएपछि चिनियाँले खासामा बोलाएर नाका खोल्ने औपचारिक सूचना दिएका हुन्।

खासाबाट फर्केपछि मंगलबार पत्रकार भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले चिनियाँ पक्षले खासामा बोलाएर यथाशीघ्र तातोपानी नाका सञ्चालन गर्ने जानकारी दिएको बताउनुभयो।

पुस ६ गते सीमा जोडिएका जिल्लाका सुरक्षा अधिकारी र चीनको नेलास्थित सुरक्षा अधिकारीहरूबीच सीमा बैठक सम्पन्न भएको थियो। सीमा बैठक सकिएको एक साता नबित्दै मंगलबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहितका टोलीलाई खासामा बोलाएर आफूहरू अबको केही महिनाभित्र तातोपानी नाका सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराएको सिलवालले बताउनुभयो।
मंगलबार खासामा भएको दुई देशका अधिकारीहरूको बैठकमा तिब्बतका उच्च अधिकारीहरूले विनाशकारी भूकम्प र भोटेकोशीको बाढीका कारण भौतिक संरचनामा क्षति पुगेकाले मात्रै नाका सञ्चालन नभएको प्रस्ट पारेका थिए।

‘ढुक्क हुनुहोस्, अब नाका खुल्छ’, बैठकबाट फर्किएलगतै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी सिलवालले पत्रकार सम्मेलनमा भन्नुभयो– ‘आजको बैठकबाट हामी निकै उत्साही भएका छौं।’ मंगलबारको बैठकमा तिब्बतका बोर्डर कन्ट्रोलका कमान्डर गाओ वानहासहितका उच्च अधिकारीहरू सहभागी थिए। यसअघि जिल्लाका अधिकारीहरू मात्रै बैठकमा सहभागी हुने गरेकामा पछिल्लो बैठकमा चिनियाँ केन्द्रीय टिम नै सहभागी भएको सिलवालले बताउनुभयो।

चिनियाँले सडक स्तरोन्नतिपछि नाका सञ्चालन हुने जानकारी गराएको छ। भोटेकोसी बाढीले क्षति पुर्याएको अरनिको लोकमार्गको जुरेपहिरो खण्ड र निर्माणाधीन सुख्खा बन्दरगाहदेखि मितेरी पुलसम्मको सडक चिनियाँले तीव्र गतिमा मर्मत गरिरहेको छ।

मंगलबारको बैठकमा चिनियाँ पक्षले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप र चीनविरुद्ध हुने गतिविधि रोक्न नेपाललाई आग्रह गरेको थियो। ‘हामी सीमा क्षेत्रमा चीन विरोधी गतिविधि हुन नदिने र चिनियाँ पक्षले नाका सञ्चालन छिटो गर्ने सहमती भयो।’ –सिलवाल भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्