नेपाल–चीन सैन्य अभ्यासमा भारतीय चासो



नेपाल समाचारपत्र
काठमाडौं
नेपालसँग प्रायः नियमित सैन्य अभ्यास गर्दै आएको भारतले नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षले निकै चासोका साथ लिएको छ।

चीनसँगको सैन्य अभ्यासले नेपाल–भारत सम्बन्धमा असर पुर्याउन सक्ने भारतले आशंका व्यक्त गरेको हो। नेपाल–चीनबीचको सैन्य अभ्यासको तयारीलाई लिएर भारतीय अधिकारीहरूले दिल्लीस्थित नेपाली दूतावास र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग जिज्ञाशा राखेको परराष्ट्र स्रोतले जनाएको छ।

यही प्रसंगलाई जोडेर भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’ले मंगलबारको अंकमा राजदूत उपाध्यायसँगको भनाइ राखेर समाचार प्रकाशित गरेपछि भारतीय चासो प्रस्टरूपमा सार्वजनिक भएको हो।

नेपालले भारतसँग वर्षौं अघिदेखि संयुक्त सैन्य अभ्यास गर्दै आएकामा चीनसँग पनि त्यस्तै अभ्यास हुन लागेको अवस्थामा अनावश्यक प्रचार मात्र भएको नेपाली सेनाका अधिकारीहरू बताउँछन्। ‘वर्षौं अघिदेखि अमेरिकन, भारतीय टोलीसँग नेपाली सेनाले यस्तो प्रकारको अभ्यास गर्दै आएको छ, तर चीनसँग हुन लागेको अभ्यासलाई भारतीय सञ्चारमाध्यमले अतिरञ्जित रूपमा प्रचार गरेका मात्र हुन्।’ –सेनाका एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने।

नेपाल र भारतीय सेनाबीच दुवै मुलुकका विभिन्न स्थानमा यसअघि संयुक्त सैन्य तालिम सम्पन्न भइसकेका छन्। बाराको अमलेखगन्ज, मनाङ, काठमाडौंको छाउनी, भक्तपुरको खरिपाटी तथा नगरकोटजस्ता स्थानमा यसअघि संयुक्त अभ्यास भइसकेका छन्। गत वर्ष भारतको कुमाउ गडवालमा दुवै मुलुकका सैनिक संलग्न ‘सूर्य किरण तालिम’ सम्पन्न भएको थियो। स्रोतका अनुसार अहिले चिनियाँ पक्षले नेपाललाई २ महिनापछि (अंग्रेजी महिनाको फ्रेब्रुअरी) तालिम गर्न प्रस्ताव गरेको छ।

यसबारेमा जिज्ञाशा राख्दा नेपाली सेनाका सहायक रथी ताराबहादुर कार्कीले चिनियाँ पक्षसँग प्रारम्भिक चरणको छलफल मात्र भइरहेकाले सैन्य अभ्यासको मिति तय नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘पारस्परिक सहयोग र पेसागत सैनिक क्षमता अभिवृद्धि गर्न यस्तो तालिम धेरै मुलुकसँग पनि आदान–प्रदान भइरहन्छ, चीनसँग पहिलो भनेर किटान गर्न जरुरी छैन।’ सहायक रथी कार्कीका अनुसार चीनसँग हुने द्विपक्षीय सैनिक अभ्यास ‘सानो स्केल’को मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस्