त्रिविमा फेरि भागवन्डा



ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयमा फेरि राजनीतिक भागवण्डा भएको छ। भागवण्डाका कारण दिनदिनै साख गिर्दै गएको त्रिविको कार्यकारी परिषद्ले ३ जना निर्देशक र ६ जना डीन नियुक्त गरेको छ।

त्रिविका पदाधिकारीले दल निकट प्राध्यापक संघ, संगठनका नेताको सिफारिसमा उच्च पदमा नियुक्त गरेको हो। कार्यकारी परिषद्ले ९ महिनादेखि रिक्त रहँदै आएको विभिन्न संस्थानमा नियुक्त गरेको हो। राजनीतिक खिचातानीका कारण नौ महिनादेखि विभिन्न निकायका प्रमुख पद नियुक्त हुन नसक्दा अनुसन्धान केन्द्र, अध्ययन संस्थान र डीन कार्यालयको काममा असर पर्दै आएको थियो। दलगत प्राध्यापकको संघसंगठनको पटकपटकको बैठकपछि त्रिविले प्रमुखको नियुक्ति गरेको हो। यो बेला नियुक्ति नगर्दा भोलि बिहीबार १४ गते आयोजना हुने दीक्षान्त समारोहमा समेत समस्या पर्ने भएपछि कार्यकारी परिषद्ले रातारात डीन र निर्देशक नियुक्त गरेको हो।

त्रिविले सत्ताधारी दल माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसवादी दललाई समेटेर नियुक्ति गरेको हो। कार्यकारी परिषद्ले सोमबार राति शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)मा माओवादी निकट प्राडा जीवनाथ धिताल, व्यावहारिक विज्ञान तथा प्राविधि अध्ययन संस्थान (रिकास्ट)मा एमाले निकट प्राडा रामेश्वर अधिकारी र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रमा लोकतन्त्रवादी प्राध्यापक निकट प्राडा अरूणकुमार ठाकुरलाई नियुक्त गरेको छ।
नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष वासुदेव घिमिरे, एमाले निकट प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादवप्रकाश लामिछाने र माओवादी केन्द्र निकट प्राध्यापक संगठनका महासचिव पूर्ण लामिछानेलगायतका संघसंगठनका पदाधिकारीको सिफारिसमा ३ निर्देशक र ६ डीन नियुक्त गरिएको हो।

त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँले सबै सक्षम प्राध्यापक र डाक्टरलाई निर्देशक र डीनमा नियुक्त गरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘राजनीतिक भागबण्डा भयो भन्ने विषय मलाई थाहा छैन, समक्ष व्यक्तिलाई नियुक्ति गरेका हौं।’

कार्यकारी परिषद्ले विज्ञान अध्ययन संस्थानमा माओवादी निकट प्राडा रामप्रसाद खतिवडा, कृषि तथा वनविज्ञान अध्ययन संस्थानको डीनमा नेपाली कांग्रेस निकट केशवराज अधिकारी, वन विज्ञान अध्ययन संस्थानको डीनमा नेपाली कांग्रेस निकट प्राडा कृष्णराज तिवारीलाई नियुक्त गरेको छ। त्यस्तै शिक्षा संकायको डिनमा नेपाली कांग्रेस निकट कृष्णप्रसाद गौतम, व्यवस्थापन संकायमा एमाले निकट प्राडा दिल्लीराज शर्मा र मानविकी संकायमा माओवादी निकट प्राडा शिवराज भुसाललाई नियुक्त गरेको छ। त्रिविले ३ जना नेपाली कांग्रेस, २ जना माओवादी केन्द्र, एक एमालेका प्राध्यापकलाई डीनमा नियुक्त गरेको हो।

अनुसन्धान केन्द्रमा एमाले, माओवादी केन्द्र र मधेसीदलबाट एकएक प्राध्यापकलाई नियुक्त गरेको हो। सबै पदको पदावधि चार वर्षको हुनेछ। त्रिविका प्रवक्ता भोलाप्रसाद ढकालले कार्यकारी परिषद्ले नियुक्त गरेको विषयलाई राजनीतिक भागबण्डा भन्न नमिल्ने बताउनुभयो। उहाँले त्रिविमा लामो समयदेखि त्रिविमा कार्यरत व्यक्तिलाई निर्देशक र डीनमा नियुक्ति गरेको बताउनुभयो। भागबण्डाको आधारमा अझै दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) र करिब आधा दर्जन क्याम्पस प्रमुखको नियुक्त हुन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्