मन्त्री र सांसदका नक्कली योजना



मोतीराम तिमल्सिना, काभ्रे
सांसदमार्फत् खर्च गरिने निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्तगत खर्च गरिने योजनाहरूको सूची मंसिर मसान्तभित्रै जिल्ला विकास समितिमा पेस गर्नुपर्ने भए पनि जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्री तथा केही सांसदहरूले योजना दर्ताको पत्र दर्ता गरे पनि योजना बुझाएका छैनन्।
जिल्लाबाट उद्योग राज्यमन्त्री भएका क्षेत्र नम्बर ३ का सांसद कञ्चनचन्द्र बादे र क्षेत्र नम्बर १ का सांसद तीर्थ लामाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको ५० लाख रकमको योजना बुझाएका छैनन् भने निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतको ३ करोडका योजनाको बैठकसमेत बस्न सकेको छैन।

‘मन्त्री र सांसदहरूले नै किर्ते काम गरेपछि आम सर्वसाधारणहरूले के सिक्ने?’, जिल्ला विकास समितिका एक कर्मचारीले भने– ‘मन्त्री बादेको मंसिर ३० गते योजना पेस गरेको पत्रको दर्ता नम्बर २०७१ हो।’

तर योजना भने अझै जिल्ला विकास समितिमा दर्ता भएको छैन। त्यस्तै सांसद लामाले पनि मंसिर ३० गते दर्ता नम्बर २०७० मा योजना पेस गरेको पत्र जिल्ला विकास समितिमा दर्ता गराएका छन्, योजना भने छैन।

गत वर्ष पनि मन्त्री बादे र सांसद लामाले एक महिनापछि बुझाएका थिए। मंसिर ३० को दर्ता मिति राखेर योजना पेस नगरेको बारेमा जिल्ला विकास समितिका योजना अधिकृत द्योलकराज ढकालले एक⁄दुई दिनमै बुझाउँछु भनेर पत्र मात्रै लिएको जानकारी दिनुभयो। ‘पुसको दोस्रो साता प्रवेश गरिसक्दा पनि उहाँहरूको एक⁄दुई दिन सकिएको छैन’, योजना अधिकृत ढकालले भन्नुभयो– ‘ताकेता गर्नुभन्दा आफैले जान्नुपर्ने हो? हामीले कसरी योजना मागिरहनु?’

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको तीन करोड रकम क्षेत्र नम्बर ४ का सांसद विदुर सापकोटाबाहेक अन्य सांसदको विनियोजन हुन सकेको छैन। क्षेत्र नम्बर १ का लामा, क्षेत्र नम्बर २ का रामहरि सुवेदी र क्षेत्र नम्बर ३ का राज्यमन्त्रीसमेत रहेका बादेले पहिलो बैठकपछि दोस्रो बैठक बोलाउन पनि सक्नुभएको छैन। तर पनि मंसिर ३० कै मितिमा योजना पेस गरेको पत्र भने दर्ता भएको छ।

निर्वाचन क्षेत्रका सांसदहरूको संयोजकत्वमा रहने समितिमा समानुपातिक सांसदहरूले सोही निर्वाचन क्षेत्रमा ५० लाख बजेटको ५१ प्रतिशत योजना विनियोजन गरेको अवस्थामा सांसद सदस्य रहने व्यवस्था छ। साथै स्थानीय विकास अधिकारी, विषयगत कार्यालयका प्रतिनिधि, जिल्ला प्राविधिक कार्यालयका प्रतिनिधि र जिल्ला विकास समितिका योजना अधिकृत सदस्य सचिव रहने ब्यवस्था छ।

क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सांसद कमला दोङ, क्षेत्र नम्बर २ मा मधेसी जनअधिकार फोरमका सांसद डा. बाबुराम पोखरेल र राप्रपाका सांसद रेशम लामा, क्षेत्र नम्बर ३ मा एमालेका सांसद केशव बडाल सदस्य रहेका छन्। फरक फरक आस्था राख्ने पार्टीका सांसदहरूले सोही क्षेत्रमा ५१ प्रतिशत रकम विनियोजन गरेपछि विशेष गरी लामा र बादेलाई योजना छनोटका लागि हम्मेहम्मे परेको स्रोतले बतायो।

जिल्लामा ८ सांसदमार्फत खर्च हुने १६ करोड रुपियाँको विनियोजन समयमै हुन नसक्दा योजना कार्यान्वयन तथा त्यसको प्रतिफल प्राप्त हुन नसक्ने स्थानीयहरू बताउँछन्। पुसको मध्यसम्म योजना छनोट नगर्ने सांसदहरूले ३ करोडमा एउटा ४० लाखको योजना छनोट गर्नुपर्नेछ भने अन्य १० लाखभन्दा माथिका २१ वटासम्म योजना छनोट गर्न सक्नेछन्।

५० लाख रुपियाँमा १० लाखको एउटा योजना छनोट गरेपछि १ लाखभन्दा माथि २१ वटासम्मका योजनाहरू छनोट गर्न सक्नेछन्। समानुपातिकतर्फका बडाल, दोङ, लामा र पोखरेलले समेत काभ्रे जिल्लामै योजना छनोट गरेपछि आठ सांसदको १६ करोड रकमका योजना छनोट गर्नुपर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्