सुत्केरी महिलाले आयोडिनयुक्त नुन पनि पाएनन्



ललित सिंह, बझाङ
ल्लाका ग्रामीण भेगका पाँच दर्जनभन्दा बढी गाउँकी गर्भवती महिला र सुत्केरी महिला आयोडिनयुक्त नुन खानबाट वञ्चित भएकी छन्। बालबालिका आयोडिनयुक्त नुनको अभावमा ढिकेनुन खान बाध्य भएका छन्।

सरकारको डिपो केन्द्र पाइक पर्ने ठाउँमा मात्र सीमित भएकाले विकट ग्रामीण भेग काडा गाविसको धुली, काया, बलौडी, बडिजियावन, चुहावन, खिरपाटा, अदुकाली, लापडी, बाँजचौका गडरायलगायतका पाँच दर्जनभन्दा विकट गाउँका गर्भवती र सुत्केरी महिला आयोडिनयुक्त नुन अभावमा ढिकेनुन खान बाध्य भएका छन्।

‘उमेरले ३१ वर्ष भयो ७ छोराछोरी जन्माएँ। अहिले साथमा एउटा सन्तान मात्र छ। आयोडिन नुन खान त परै जाओस् देख्नसमेत पाएको छैन’, काडा गाविस–५ की रुपसी बोहराले बताइन्– ‘स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीले दुई बालबालिको चिह्न भएको आयोडिनयुक्त नुन खानुपर्छ भन्छन् तर आफूले खान पाएको छैन। जहिले पनि ताक्लाकोटबाट ढिकेनुन ल्याएर खाने गरेको छु, आयोडिन नुन कहाँ पाउँछ आफूलाई थाहै छैन।’

उनी भन्छिन्– ‘सदरमुकाम चैनपुर जान ४ दिन लाग्छ नजिकै पाइँदैन। मजस्ता सुत्केरी र गर्भवती महिलाको पीडा यस्तै हो। यहाँका सबै परिवार ताक्लाकोटबाट आएको भुरो नुन नै खान्छन्।’ घरमा आफूले आयोडिन नुन प्रयोग गर्ने र गाईभैंसीलाई समेत आयोडिन नुन नै दिने भए पनि जिल्लाकै विकट काडा गाविसमा रहेको धुलीगाउँमा बस्दा स्थानीय गाउँले सँगै आफूले पनि ढिकेनुन खाएको धुली निमाविका शिक्षक नवराज जोशीले बताए।

‘कक्षाकोठामा विद्यार्थीलाई पढाउँदा दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुन खानुपर्छ यसले गलागाँडलगायतका रोग लाग्नबाट बचाउँछ भने पनि किताबमा र कक्षाकोठामा मात्र सीमित हुन्छ, प्रयोगमा ल्याउन पाइँदैन, कुनै विद्यार्थीलाई त मोबाइलमा फोटा खिचेर आयोडिन युक्त नुनको फोटो यस्तो हुन्छ भनी देखाउनुपर्ने हुन्छ’, शिक्षक जोशीले बताए– ‘विद्यालयमा १ सय ५६ जना बालबालिका छात्र–छात्राले ढिकेनुन नै खाने गरेका छन्। विद्यालयमा अब ६ महिनाको एकपटक भए पनि एक चिम्टी आयोडिन नुन खुवाउने सोच राखेको छु।’

‘एक पाकेट नुन लिन ४ दिन पैदल हिँड्नुपर्ने सदरमुकाम चैनपुर पुगे पनि भनेको समयमा नुन पाइँदैन। सदरमुकाम जानुभन्दा ताक्लाकोट गए २ दिनमै घर पुगिन्छ खर्च पनि कम हुन्छ’, स्थानीय उमेश बोहराले बताए– ‘आयोडिन नुन एक केजीको १ सय ५० रुपियाँ काडा गाविसको धुलीगाउँमा पर्छ। ताक्लाकोटको ढिकेनुन एक केजीको ३५ रुपियाँ पर्छ। त्यसैले हामी आयोडिन नुनभन्दा ताक्लाकोटको ढिकेनुन खान बाध्य भएका छौं।’

सदरमुकाम चैनपुर र यसको आसपासका क्षेत्रमा पहुँच हुनेवालाले मात्र सरकारी कोटाको आयोडिन नुन खान पाएका छन्। ९ रुपियाँ पर्ने एक पाकेट नुन ब्ल्याकमा २५ रुपियाँमा पसलेहरूबाट किन्नुपर्छ। क्षेत्र नं. १ का दजनौं विकट गाविसका स्थानीय बासिन्दा र क्षेत्र नं. २ का केही विकट गाउँका बासिन्दा आयोडिन नुन खानबाट वञ्चित भएका नेपाली कांग्रेस जिल्ला सदस्य ज्ञानबहादुर बोहराले बताए।

उनले भने– ‘आयोडिन नुन गर्भवती महिला र दुई वर्षभित्रका बालबालिकालाई अनिवार्य रुपमा आयोडिनयुक्त नुन खुवाउनुपर्छ तर जिल्लाका विकट गाविसहरूमा भने बालबालिका र गर्भवती महिला मात्र नभई सम्पूर्ण स्थानीय बासिन्दा आयोडिन नुन खानबाट वञ्चित भएका छन्। जिल्लाको उत्तरी भेग काडा गाविसका स्थानीयलाई त आयोडिन के हो भन्ने पनि थाहा छैन। उनीहरू ताक्लाकोटको आयोडिनविहीन भुरो नुन नै खाने गर्दछन्।’

जिल्लाका विकट गाविसका स्थानीय बासिन्दालाई आयोडिनयुक्त नुन खानुपर्छ भनी स्थानीय महिला स्वयंसेविकालाई भनेर आयोडिनयुक्त नुनको प्रचारप्रसार गर्दै आएको जिल्ला स्वास्थ्य बझाङका डाक्टर विष्णु खतिवडाले बताए। जिल्लामा विशेष गरी गर्भवती महिला र बालबालिकाको स्वाथ्य परीक्षण गर्दा सदरमुकाम आसपासका क्षेत्रभन्दा विकट गाउँका स्थानीयको स्वास्थ्य परीक्षण गर्दा आयोडिनको मात्रामा कमी देखिएको छ। आयोडिन कमी भएका स्थानीय बासिन्दालाई सम्झाई–बुझाई आयोडिन नुन नखाए पछि विभिन्न खाले रोग लाग्छ भनी जनचेतना जगाइरहेको उनले बताए।

जिल्लाको सदरमुकाम चैनपुर र क्षेत्र नं. १ को मेलबिसौना गाविसको तालकोटमा र क्षेत्र नं. २ को बागथलामा आयोडिनयुक्त नुन वितरण केन्द्र राखेको साल्ट टेड्रिङ कप्रोरेसनका विक्रेता टेकबहादुर बोहराले बताए। उनले भने– ‘अहिले गोदाममा १६ सय कुन्टल बराबर नुन रहेको छ। सदरमुखकाम चैनपुरका प्रत्येक आइतबार आयोडिन नुन वितरण गरिन्छ। एक केजीको ९ रुपियाँ पर्छ।

आवश्यकताअनुसार सबैलाई दिने गरिन्छ। तर, भौगोलिक विकटता, नुन ढुवानीमा समस्या र सहजै यातायात र गोरेटो बाटोको सुविधा नभएकै कारण विकट गाउँमा आयोडिन नुनको समस्या देखिएको हो।’

प्रतिक्रिया दिनुहोस्