बैंकहरूद्वारा घरजग्गा कारोबारमा ऋण दिन बन्द



नेपाल समाचारपत्र
काठमाडौं
कहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन्। वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताएका छन्।

‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भन्नुभयो ‘अहिले रियल इस्टेटमा पनि कर्जा निरुत्साहित गर्न थालिएको छ।’ केही साताअघिदेखि नै तुलनात्मक रूपमा घरजग्गाको कारोबारमा ब्याजदर उच्च राखेर त्यस्तो कर्जा निरुत्साहित गर्न थालिएको उहाँले बताउनुभयो। तरलता अभाव भएपछि पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्विसी रेसियो) उच्च दरमा राख्नुपर्ने घरजग्गा कारोबारमा लगानी गर्न बन्द गरिएको बैंकरहरूले बताए।

नेपाल राष्ट्र बैंकको नियम अनुसार घरजग्गा कारोबार र मार्जिन प्रकृतिका कारोबारमा ऋण दिँदा बैंकले एक सय ५० प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्छ। त्यसको मतलब घरजग्गा कारोबारमा बैंकले सय रूपैयाँ लगानी गर्न १५ रूपैयाँ पुँजी राख्नुपर्छ। जबकि, आवासीय घर निर्माणमा कर्जा दिँदा बैंकले ६ रूपैयाँ मात्रै आफ्नो पुँजी राखेर सय रूपैयाँ कर्जा दिन पाउँछ। सुन खरिद गर्न वा मुद्दति निक्षेपका आधारमा दिइने कर्जामा लगानी गर्न बैंकले पुँजी राख्नै पर्दैन।

अरू सामान्य व्यापारिक र उत्पादनमूलक कर्जा प्रवाह गर्दा सय रूपैयाँ कर्जामा १० रूपैयाँ पुँजी राख्नुपर्छ। यसरी १५ रूपैयाँ पुँजी राख्दा बैंकले रियल इस्टेटमा बढीमा सय रूपैयाँ ऋण दिन पाउँछ भने त्यति नै पुँजीले आवासीय घर कर्जामा २ सय ५० रूपैयाँसम्म ऋण दिन पाउँछ। बैंकमा यसै पनि लगानीयोग्य रकम कम भएका वेला जोखिमपूर्ण बजारमा लगानी नगर्ने निचोडमा बैंकरहरू पुगेका उहाँले बताउनुभयो।

सेयर बजार र घरजग्गा कारोबारलाई सट्टेबाजी बजार (स्पेकुलेटिभ मार्केट) भनिन्छ। यसलाई राष्ट्र बैंकले सबैभन्दा जोखिमपूर्ण बजारका रूपमा लिएको छ। आज भाउ बढ्यो भने भोलि नै घट्न सक्ने, आज घट्यो भने भोलि बढ्न सक्ने उतारचढावपूर्ण बजारमा ऋण लगानी गर्न बढी जोखिम हुने गर्छ।

त्यसै आधारमा राष्ट्र बैंकले पुँजी पर्याप्तता अनुपात बढी राख्नुपर्ने र धितो मूल्यांकन पनि कम गर्ने गरेको छ। अहिले पनि घरजग्गा कारोबारमा बैंकले लगानी गर्दा धितो मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण दिन पाउँछन्। तर, आवासीय घर कर्जामा धितोको ६० प्रतिशत ऋण दिन पाइन्छ। पुँजी बढी राख्नुपर्ने भएकाले ब्याजदर पनि उच्च हुन्छ।

राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा कारोबारमा ७४ अर्ब १७ करोड ८३ लाख रूपैयाँ कर्जा लगानी गरेका छन्। आवासीय निर्माणमा भने बैंक तथा वित्तीय संस्थाले एक खर्ब ६० अर्ब रूपैयाँभन्दा बढी लगानी गरेका छन्। गत वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेको र घरजग्गा कारोबार बिस्तारै उकासिन थालेपछि पछिल्ला महिनामा रियल इस्टेट कर्जा बढ्दो क्रममा थियो। एकाएक बैंकहरूसँग ऋण दिने पैसा अभाव हुन थालेपछि घरजग्गा कारोबारमा बैंकहरूले ऋण दिन बन्द गरेका हुन्।

बैंकरहरूका अनुसार हाल वित्तीय प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि सेयर बजार र घरजग्गा कारोबारमा ऋण दिन बन्द गरिएको हो। तरलता बढी हुँदा यस्ता बजारको प्रवृत्ति पनि सुधारोन्मुख रहने र तरलता घट्न थालेपछि सट्टेबाजी पनि तुरुन्तै घट्ने गर्छ। अनुत्पादक क्षेत्र भएकाले थप मूल्य अभिवृद्धि हुने सम्भावना पनि नहुने बैंकरहरू बताउँछन्। यसकारण तरलता संकट जति चुलिँदै जान्छ, घरजग्गाको मूल्य र कारोबार घट्दै जाने अर्थ्विद्हरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्