रोमानियाली राष्ट्रपतिद्वारा प्रधानमन्त्री उम्मेदवार अस्वीकृत



बुखारेस्ट, (एजेन्सी)
रोमानियाली राष्ट्रपति कल्स इओहान्निसले मंगलबार वामपन्थी मध्यमार्गी सोसियल डमेक्रेटहरूद्वारा प्रधानमन्त्री पदका लागि अघि सारेका व्यक्तिलाई अस्वीकार गरेका छन्। यदि राष्ट्रपतिले सहमति जनाएको भए सेभिल साइदेह रोमानियाको पहिलो महिला तथा पहिलो मुस्लिम प्रधानमन्त्री हुने थिइन्।
तर राष्ट्रपति इओहान्निसले आफ्नो निर्णयका लागि कुनै कारण उल्लेख गरेका छैनन्। राजनीतिक विश्लेषकहरूले भने त्यति धेरै राजनीतिक अनुभव नभएको तथा एकपटक मात्र क्षेत्रीय मन्त्रीको भूमिका निभाएको कारणले पनि उनलाई यो मौका नदिइएको हुनुपर्ने अनुमान गरेका छन्।

गत ११ डिसेम्बरमा सम्पन्न आमचुनावमा सोसियल डेमोक्रेट (पीएसडी) ले बहुमत ल्याएकाले त्यसले गठबन्धन सरकार बनाउने आशा गरिएको हो। राष्ट्रको नाममा टेलिभिजनबाट सम्बोधन गर्दै इओहान्निसले भनेका छन्– ‘मैले उनको मनोनयको पक्ष र विपक्षमा राम्ररी विश्लेषण गरिसकेपछि यो प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हुँ।’

‘मैले गठबन्धनलाई अर्कै उम्मेदवार छनोट गर्न आग्रह गरेको छु।’ –राष्ट्रपतिले भनेका छन्। यस निर्णयको कारण नखुलाए पनि यदि उनलाई प्रधानमन्त्री बनाइएको खण्डमा उनी पीएसडीका नेता लिभिउ द्राग्नियाको कठपुतली हुने अनुमान गरिएको छ। चुनावी अभियानमा पीएसडीले निवृत्तिभरण रकम बढाउने र कर कटौती गर्ने मुद्दा अघि सारेको थियो।

पीएसडीले खसेको कुल मतको करिब ४५ प्रतिशत मत हासिल गरेको थियो। चुनावमा धाँधली गरेको अभियोग लागेको कारण द्राग्निया स्वयंले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिन नसकेको हुन्। सोही अपराधमा उनलाई सुनाइएको दुई वर्ष लामो कारावास सजाय हाल स्थगन अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्