ओबामाले महत्त्वपूर्ण निर्णय लिने अपेक्षा



वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति बाराक ओबामा ८ वर्ष लामो कार्यकाल पूरा गर्दै ह्वाइट हाउस छोड्ने तयारीमा छन्। ह्वाइट हाउसमा आफ्नो कार्यकालको अन्तिम केही दिन मात्र उनले बिताउन पाउनेछन्।

नयाँ वर्षको पदार्पणसँगै जनवरी २० पछि उनको स्थानमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हुनेछन्। ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले राष्ट्रपति बाराक ओबामाका सम्पूर्ण नीतिहरू सत्तामा आएपछि परिवर्तन गर्ने बताएका थिए।

बाराक ओबामाका ती नीतिहरू उनको कार्यकालपछि उनको ऐतिहासिक धरोहरका रूपमा सीमित हुनेछन्। आफ्नो अन्तिम समय नजिकिरहेका बेला ओबामाले लिन सक्ने महत्त्वपूर्ण निर्णयका विषयमा अनुमान भइरहेको छ।

‘अ कन्सिस्टेन्ट प्रसिडेन्टः द लिगेसी अफ बाराक ओबामा’ का लेखक माइकल डी एन्टोनियो बताउँछन्– ‘मलाई लाग्छ बाराक ओबामाले पर्यावरण र अन्तर्राष्ट्रिय मुद्दाका मामिलामा केही थप कदम चाल्नेछन्।’

उनी भन्छन्– ‘उत्तरी अटलान्टिकलाई हाइड्रोकार्बनको दुष्प्रभावबाट बचाउनका लागि बाराकले केही त्यस्तो कूटनीतिक कदम चाल्न सक्छन् जसको अपेक्षा गरिएको छैन। डायलसस्थित साउर्दन मेथोडिस्ट युनिभर्सिटीको सेन्टर अन पे्रसिडेन्सियल हिस्ट्रिका निर्देशक जेफर एन्गेल भन्छन्– ‘हरेक राष्ट्रपतिले जस्तै ओबामाले पनि अवश्य आफ्नो प्रतिष्ठालाई सम्हालेर राख्न चाहन्छन् तर कानुनको विशेषज्ञ भएको नाताले उनलाई यो राम्रोसँग थाहा छ, भावी राष्ट्रपति उनका नीतिहरू पल्टाउन सक्छन्। त्यसैले म कुनै ठूलो नाटकीय परिवर्तनको लक्षण देखिरहेको छुइनँ।’

आर्कटिक क्षेत्रमा हाइड्रोकार्बनमाथिको प्रतिबन्ध एक प्रकारले प्रतीकात्मक फैसला मात्र हुने विज्ञहरूको धारणा छ। माइकल डी एन्टोनियो अहिले ओबामा कार्यकाल समाप्तिपछि आफ्नो अलग भूमिका निभाउने तयारीमा रहने बताउँछन्। उनी भन्छन्– ‘मलाई लाग्छ, ट्रम्पको तयारी अत्यन्त कमजोर रहेको र उनलाई सल्लाहको आवश्यक हुने ओबामाले ठानेका छन्।’

भावी राष्ट्रपतिसँग देशको प्रगतिका लागि एउटा सोच निकाल्न ओबामाले प्रयास गर्ने पनि माइकल बताउँछन्। एन्गेलले ओबामा आफ्नो बिदाइ समारोहको भाषणको तयारीमा पनि काम गर्ने पनि बताउँछन्। यसका बाबजुद ओबामाले ह्वाइट हाउसबाट प्रस्थान गर्नुअगाडि केही आश्चर्यजनक फैसला लिन सक्ने सम्भव भएको अनुमान गरिएको छ।

एन्गेल भने– ‘विद्यमान राजनीतिक स्थितिले हामीलाई सधैं केही अप्रत्यासित घटनाका लागि तयार रहनुपर्छ भन्ने सिकाएको छ।’

प्रतिक्रिया दिनुहोस्