मानव आश्रमका लागि वीरगन्जमा जात्रा



कृष्णउदास खनाल
वीरगन्ज

चिसो महिना भए पनि वीरगन्जमा घाम लागेकै थियो। वीरगन्जको नगर सभागृहमा वीरगन्ज वासीहरुको खचाखच उपस्थिति थियो। खचाखच भीड हुन ख्यातिप्राप्त हाँस्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नामै काफी थियो। हाँस्य जोडी मह नगर सभागृहमा प्रवेश गर्ने बित्तिकै तालीको गड्गडावट आयो। वीरगन्जमा मानव सेवा आश्रम सञ्चालनका लागि उनीहरु वीरगन्ज आएका थिए। वीरगन्जमा मानव सेवा आश्रम सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन महजात्रा २०७३ कार्यक्रमको आयोजना गरिएको थियो।

वीरगन्जको नगर सभागृहमा आयोजित महजात्रा कार्यक्रममा आचार्य र श्रेष्ठले समसामयिक राजनीतिक अवस्था तथा विकृतीका विषयमा व्यङ्ग्यात्मक प्रहसन प्रस्तुत गरेका थिए। यस्तै कार्यक्रममा हाँस्य कलाकारहरु किरण केसी, राजाराम पौडेल, नरेन्द्र कंसाकार, हरिवंश पुत्र मोहीतवंश आचार्य, मदनकृष्ण पुत्र यमन श्रेष्ठ, गायिका माण्डवी त्रिपाठी, रुविना अधिकारी, रूपा खड्काले पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रम हेर्नका लागि करिब आठ सय दर्शक जम्मा भएका थिए।

कार्यक्रममा टिकट बिक्रीबाट पाँच लाख र विभिन्न कम्पनीको प्रायोजनबाट पाँच लाख गरी कूल १० लाख रुपियाँ संकलन भएको तथा पाँच लाख रुपियाँ खर्च भएको महजात्रा कार्यक्रमका संयोजक डा. दीपक शाक्यले जानकारी गराए। कार्यक्रमबाट बचत भएको पाँच लाख रुपियाँ वीरगन्जमा मानव सेवा आश्रम सञ्चालनका लागि खर्च गरिने उनले बताए। शारीरिक तथा मानसिक आशक्तताका कारण सडकमा कष्टकर जीवन यापन गरिरहेकाहरुको जीवन सहज बनाउनका लागि वीरगन्जमा मानव सेवा आश्रम सञ्चालन गर्न लागिएको भन्दै शाक्यले तत्कालका लागि माघ महिनामै घर भाडामा लिएर आश्रम शुरू गर्ने जानकारी थिए।

प्रतिक्रिया दिनुहोस्