धान उत्पादनमा कमी



नेपाल समाचारपत्र
गुल्मी
गुल्मीमा यो वर्ष धान उत्पादन कमी आएको छ। जिल्ला कृषि विकास कार्यालय गुल्मीले दिएको उत्पादनको तथ्यांकका आधारमा जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आएको हो। जिल्लाको विभिन्न ठाउँमा रहेको कुल १० हजार ५७ क्षेत्रफलमा लगाइएको धानबालीमा यस वर्ष २५ हजार ३ सय ५५ म्याट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय गुल्मीका प्राविधिक सहायक सोमबहादुर रानाले जानकारी दिए।

गत वर्ष जिल्लामा १० हजार ४ सय ३२ क्षेत्रफलमा २६ हजार २ सय ५६ म्याट्रिक टन धानबाली उत्पादन भएको थियो। गत वर्षको तुलनमा हेर्दा यस वर्ष गुल्मीमा धानबाली उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ। गुल्मी जिल्लामा गत वर्षभन्दा यस वर्ष धानबाली उत्पादन वृद्धिदर घटनुमा मुख्य कारण उत्पादन योग्य जमिन बाँझो रहेको कार्यालयले जनाएको छ। गतवर्षको तुलनामा यो वर्ष ३ सय ७५ क्षेत्रफल उत्पादनयोग्य जमिन बाँझो रहेकाले उत्पालनमा कमी आएको रानाको भनाइ रहेको छ। गाउँमा धेरै जनशक्ति विदेसिँदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरू नपाउनु र उत्पादन गरेरभन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछि जमिन बाँझो हुँदै गएको प्राविधिक सहायक रानाले जानकारी दिए।
हाल जिल्लामा रामधान, खुमल ४, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जातलगायतका धान यहाँका कृषकहरूले लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा धान उत्पादनमा सघाउ पुर्याउन जिल्ला कृषि विकास कार्यालय गुल्मीले बीउमा अनुदान, साना सिँचाइ सहकारी सिँचाइमा सहयोग, बाली संरक्षण रोग किरा नियन्त्रण, विभिन्न तालिमसहित प्राविधिक सहयोग सल्लाह दिँदै आएको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिँचाइको व्यवस्था रहेको छ भने ६ हजार ३ सय ९८ क्षेत्रफल खेतमा आंशिक सिँचाइको व्यवस्था रहेको छ। जिल्लामा सबैजसो ठाउँमा सिँचाइको प्रयाप्त व्यवस्था नहँुदा किसान आकाशेपानीमा भरपर्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया दिनुहोस्