सिँचाइ कुलो बनेपछि स्थानीय हर्षित



वीरबहादुर बम, मुगु
मुगु–कार्कीबाडा गाविसको कालापाल्त गाउँमा सिँचाइ कुलो निर्माण भएपछि स्थानीय हर्षित भएका छन्। गरिबी निवारण कोषको आर्थिक सहयोग र जनकल्याणको सामाजिक परिचालनमा सिँचाइ कुलो बनेको छ। कोषको १९ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कुलो करिब २० रोपनी खेतीयोग्य जमिन र तरकारीबारीका लागि प्रयोग गरिने भएको छ। कुलोले गर्दा धान तरकारी उत्पादनमा टेवा पुग्ने भएको छ।

उक्त सिँचाइ कुलोबाट कार्कीबाडा गाविसका करिब ३ सय परिवार लाभान्वित हुने गएका छन्। कुलो नहुँदा बाँझिँदै गएको कालापाल्त गाउँको जमिन अब पानीले उर्भरा बन्ने आशा गरेका छन्। सदरमुकामभन्दा डेढ घण्टा टाढा रहेको कालापाल्तमा अन्नबालीभन्दा विशेष गरी बन्दा, काउली, लसुन, प्याज, आजु, रायो, धनियालगायत मौसमी तथा बेमौसमी तरकारी बढी उत्पादन हुने गरेको छ।

हाम्रो आवश्यकताअनुसार कोषले सिँचाइ कुलो निर्माण गरी दिएपछि निकै खुसी भएको समूहकी अध्यक्ष तिउखुरी रावलले भनिन्– ‘अब अनाजदेखि तराकारी फलाउन सिँचाइ गर्न पाइने भयो।’ कालापाल्त गाउँका महिलाको मागअनुसार कुलो बनेको कोषले जानकारी गराएको छ। कुलो निर्माणका लागि महिला समूह गठन गरी योजना स्वीकृत गरिएको कोष कार्यप्रबन्धक कृति खाताले बताए।
कोषको दोस्रो चरण कार्यक्रम लागू भएलगत्तै कालापाल्तमा सिँचाइ कुलो बनेको छ। पहिलो चरणमा जिल्लामा कोषका ५ वटा साझेदारी संस्था रहेको दोस्रो चरणमा ३ वटा मात्र साझेदारी संस्था छनोट भएका छन्।

लगानीअनुसार राम्रो प्रगति होस् भन्ने हिसाबले समुदायमा सिँचाइ कुलो निर्माण गरेको जनकल्याण संस्थाका अध्यक्ष पदमबहादुर रावलले बताए।

प्रतिक्रिया दिनुहोस्