पुनर्निर्माणमा अग्रसर हुँदै महिला ‘अब घर ठड्याउँछौं, गाउँ उठाउँछौं’



नानीराम नेपाल, सिन्धुपाल्चोक
पुनर्निर्माणका लागि सरकारी अनुदानको पहिलो किस्ता पाइसके पनि बीस महिना बितिसक्दा पुनर्निर्माण प्रक्रियाले अपेक्षित गति लिन सकिरहेको छैन। बैंक खातामा पैसा जम्मा गरेर पीडितहरू टहरामै कष्टकर जीवन गुजारा चलाइरहेका छन्। दक्ष कामदार अभावका कारण ध्वस्त गाउँ बस्ती उठ्न नसकिरहेका बेला साँगाचोकमा भने महिलाहरू नै पुनर्निर्माणका लागि जुटिरहेका छन्। आफ्नो घर आफैं बनाउनका लागि मात्र होइन, सिंगो गाउँकै पुनर्निर्माण गर्नका लागि साँगाचोक गाउँ विकास समितिस्थित काभ्रे, जामुने र महादेवटारका स्थानीय महिलाहरू सिकर्मी, डकर्मी तालिम लिइरहेका छन्।

साँगाचोक गाउँ विकास समिति–८ की ३४ वर्षीया मीनकुमारी तामाङ विगत एक महिनादेखि डकर्मी तालिम लिइरहेकी छन्। पढाइका हिसाबले उनी आफ्नो नाम मात्र लेख्न सक्छिन् तर महिना दिनको तालिमले उनलाई दक्ष डकर्मी बनाएको छ। तालिमले उनीमा आत्मबल मात्र बढाएको छैन, आफ्नो घर आफैं ठड्याउने आत्मविश्वास पनि बढाएको छ। सामान्य साक्षर उनी हिसाब मिलाउन नसके पनि अब घरको चौखडा मिलाउन सक्ने भएकी छन्। ‘चौखडा मिलाएर, जगमा ६ इन्चको डीपीसी गरियो’, शनिबार प्रयोगात्मक तालिममा इँटाको गारो लगाउँदै गरेकी उनले भनिन्– ‘अब आफ्नै घर बनाउँछु, अरूका घर बनाउन पनि हिँड्छु।’ भूकम्पमा भत्किएका घरहरू बनाउनुपर्ने बेला आफ्ना लागि डकर्मी तालिम महत्त्वपूर्ण भएको उनले सुनाइन्। उनी भन्छिन्– ‘घर कसरी बनाउने भन्ने चिन्ता थियो, अब आँट बढेको छ।’

साँगाचोक–९ जामुनेकी १९ वर्षीया सरिता माझी पनि सामान्य साक्षर मात्र हुन्। सात कक्षामा पढ्दै गर्दा विद्यालय छाडेकी उनलाई पढ्न नपाएकाप्रति बारम्बार ग्लानि भइरहन्थ्यो। शैक्षिक योग्यता नभएकै कारण रोजगारी र अन्य अवसरहरू नपाएपछि चिन्तित बनिरहेकी उनका लागि पनि डकर्मी तालिम बरदान सावित भएको छ। डकर्मी सीप सिकिरहँदा नपढेकाप्रति अब कुनै ग्लानि छैन उनीसँग। ‘नपढे पनि सीप सिकियो, अब घर बनाउन सक्ने भएँ’ –उनले खुसी व्यक्त गरिन्।

कक्षा १२ मा पढ्दै गरेकी साँगाचोककी जुना माझी पनि महिनाअघिदेखि डकर्मी तालिम लिइरहेकी छन्। एसएलसी उत्तीर्ण भएपछि रोजगारीका अवसर खोज्दै शहर पस्ने माझी समुदायमा उनी भने एउटा उदाहरण बनेकी छन्। अझ पढेलेखेका मान्छेले डकर्मीको काम गर्नै हुँदैन भन्ने परम्परावादी समाजमा उनी पढेलेखेकी भएर पनि भने डकर्मी तालिम लिँदै छिन्। तालिमको एक महिनाको अवधिमा घर बनाउन सक्नेसम्म बनेको उनी बताउँछिन्। ‘महिलाहरू पनि पुरुषजत्तिकै काम गर्न सक्छन्, पढेका मान्छे डकर्मी बन्नु हुँदैन भन्ने होइन’, उनी भन्छिन्– ‘अब हामी दिदीबहिनीहरू मिलेर पनि घर बनाउन सक्छौं।’

सेभ द चिल्ड्रेनको सहयोगमा टुकी संघ सुनकोसीले साँगाचेकमा ५ मंसिरदेखि सिकर्मी, डकर्मीको तालिम शुरू गरेको हो। सीटीईभीटीको छनोट मापदण्डअनुसार छनोटमा परेका काभ्रे, जामुने र महादेवटारका २० जनाले तालिम लिइरहेका छन्। तालिममा सहभागीहरूलाई प्राविधिक माधव अधिकारीले सहजीकरण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्