“संविधान कार्यान्वयन राष्ट्रिय एजेन्डा”



नेपाल समाचारपत्र
लमजुङ
र्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयन राष्ट्रिय एजेन्डा भएको र संविधान संशोधन बेमौसमी बाजा भएको बताउनुभएको छ। उहाँले बेंसीशहरमा प्रेस चौतारी नेपाल, लमजुङको आयोजनामा गरिएको पत्रकार भेटघाटका क्रममा मुलुकको समसामयिक राजनीति बारेमा आफ्नो धारणा राख्दै त्यस्तो बताउनुभएको हो।

उहाँले देशको परिस्थिति जटिल मोडतर्फ उन्मुख भएको बताउँदै ठीक ढंगले संविधान लेख्न र जारी गर्न नदिनका लागि भएका प्रयासको एमालेको सचेतनाका कारण असफल बताउँदै लोकतान्त्रिक पद्दतिको उत्कृष्ट विधिमार्फत् ९० प्रतिशत बढीको बहुमतद्वारा संविधान जारी गर्न सफल भएको बताउनुभयो।

उहाँले यति बेला संविधान कार्यान्वय हो, तर सरकार संविधान कार्यान्वयनतर्फ नलागी संशोधनको डम्फु बजाइरहेको छ तर यो बेलामा संविधान संशोधन बेमौसमी बाजा हो भन्नुभयो। उहाँले एमाले संविधान संशोधनको पक्षमा नभएको बताउँदै आफ्नो दलको अडान राष्ट्र र राष्ट्रियताका पक्षमा भएको बताउनुभयो। ‘संविधान गतिशील दस्तावेज भएको हुँदा यो संशोधन नै हुनुहुँदैन भन्ने पक्षमा एमाले छैन तर यो संशोधनको बेला होइन’ –खनालले भन्नुभयो। उहाँले निर्वाचनलाई एमालेले अर्जुन दृष्टि दिएको बताउँदै निर्वाचनका लागि राष्ट्रिय सरकार गठन भएमा आफ्नो दलको आपत्ति नहुने बताउनुभयो। राष्ट्रिय सरकारमा मधेसी मोर्चा सहभागी हुन्छ त ? भन्ने पत्रकारहरूको जिज्ञासामा उहाँले राष्ट्रिय सहमति भनेको ठूला तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रबीचको एकता भएको बुझ्नुपर्ने बताउनुभयो।

उहाँले मधेसी मोर्चाको माग पूरा भइसकेको दाबी गर्दै नेता खनालले उनीहरूका माग, आग्रह या याचना जे भन्नुस् संविधानसभामा रेकर्ड भइसकेको छ अब अल्पमतले बहुमतको कदर गरेर अघि बढ्नुको विकल्प छैन भन्नुभयो। साथै उहाँले सरकारले संविधान संशोधनको प्रस्ताव फिर्ता लिएको दिनमा सदन खुल्ने बताउनुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले आफ्नो धारणा पनि शुरूका दिनमा ५ प्रदेश बनाउने भन्ने रहेको तर यति बेला एमालेको आधिकारिक धारणा भनेको ७ प्रदेश नै हो भन्नुभयो।

प्रेस चौतारीका जिल्ला उपाध्यक्ष सरला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस चौतारीका जिल्ला सचिव दलबहादुर मजाकोटीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्