कुलेखानी तेस्रोको चिनियाँ ठेकेदार सम्पर्कमा



हेटौंडा, (नेस)
सम्पर्कविहीन बनेको चिनियाँ कम्पनी आइपुगेपछि कुलेखानी तेस्रोको काम अघि बढ्ने संकेत देखिएको छ। इलेक्ट्रोमेकानिकलतर्फ ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ् जिल्लुनको उच्चस्तरीय प्रतिनिधि आइपुगेकाले काम अगाडि बढ्ने संकेत देखिएको आयोजना प्रमुख सुभासकुमार मिश्रले जानकारी दिनुभयो।

‘चिनियाँ ठेकेदार कम्पनीका उच्च अधिकारी आएका छन्,’ आयोजना प्रमुख मिश्रले भन्नुभयो–‘अब कुलेखानी तेस्रोको काम अघि बढ्छ। कसरी काम गर्ने भन्ने विषयमा छलफल गरेर अघि बढ्छौं।’ भैंसेमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रोको काम पाँचपटक म्याद थप गर्दा पनि सकिएको छैन। पुस २ गते प्रधानमन्त्री पुष्पकमल दाहालसहितको उच्चस्तरीय टोलीले कुलेखानी तेस्रोको भ्रमण गरेपछि काममा तीव्रता आउने संकेत देखिएको हो। ‘नेपाल विद्युत् प्राधिकरणले पहिलेदेखि नै चिनियाँ कम्पनीलाई आयोजनास्थलमा ल्याउन पहल गरिरहेको थियो,’ आयोजना प्रमुख मिश्रले भन्नुभयो–‘प्रधानमन्त्रीको भ्रमणपछि उहाँबाट केही पहल भएको हुनसक्छ। हामीले पनि पहल गरिरहेका थियौं।’

चिनियाँ ठेकेदार कम्पनी झेजियाङ् जिल्लुनको उच्चस्तरीय प्रतिनिधि आएसँगै कामको गति बढ्ने आयोजनाको विश्वास छ। चालू आर्थिक वर्षभित्र जसरी पनि कामसक्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएकाले आयोजनालाई दबाब परेको छ। ‘जसरी पनि अब काम अघि बढ्नै पर्छ।’

आयोजना स्थल अनुगमनपछि काम कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिनेछ। अहिले सुस्तगतिमा अघि बढिरहेको इलेक्ट्रोमेकानिकल काम ४० प्रतिशत मात्र सकिएको मिश्रले जानकारी दिनुभयो। चिनियाँ कम्पनी जिल्लुनले कुलेखानी तेस्रोबाट बिजुली निकाल्न जेनेरेटर आपूर्ति, जडान र प्रसारणलाइनसम्म पहुँच विस्तारको ठेक्का लिएको हो। चिनियाँ कम्पनी आयोजनास्थलमा नहुँदा काम प्रभावित भएको थियो। कुलेखानी तेस्रोको सिभिलतर्फ ९५ प्रतिशत काम सकिएको छ। इलेक्ट्रोमेकानिकल धेरै उपकरण जडान भएका छैनन् भने कतिपय उपकरण ल्याइएकै छैन।

प्रतिक्रिया दिनुहोस्