नक्कली समाचारले परमाणु युद्धको धम्की



इस्लामावाद, (एजेन्सी)
एउटा नक्कली समाचार साइटमा आएको समाचारलाई सामाजिक सञ्जालले बहसको रुपमा चर्चामा ल्याएपछि त्यसैलाई आधार बनाएर पाकिस्तानका रक्षामन्त्रीले इजरायलबाट हुने कुनै पनि परमाणु आक्रमणको बदला परमाणु आक्रमणबाटै हुने चेतावनी दिएका छन्।

‘इजराली रक्षा मन्त्रीः यदि पाकिस्तानले कुनै पनि वहानामा सिरियामा स्थल सेना पठाउँछ भने हामी यो मुलुकलाई परमाणु आक्रमण गरी ध्वस्त पार्छौं’ शीर्षकको एडब्ल्यूडीन्युज वेबसाइटमा प्रकाशित उक्त प्रायोजित समाचारलाई लिएर रक्षामन्त्री ख्वाजा असिफले उक्त प्रतिक्रिया दिएका हुन्।

‘इजराली रक्षामन्त्रीले सिरियामा डायस (इस्लामिक स्टेट) विरुद्धको सम्भावित पाक भूमिकालाई लिएर आणविक आक्रमणको चेतावनी दिएका छन्। इजरायलले पाकिस्तान एउटा आणविक मुलुक हो भन्ने बिर्सेको छ।’ –ती पाकिस्तानी मन्त्रीले शुक्रबार ट्विट गरेका थिए। उनको ट्विटलाई लिएर इजरायलको रक्षामन्त्रालयले स्पटीकरण दिँदै पाकिस्तानले रक्षामन्त्री यालोन रेको उक्त भनाइ कहिल्यै उच्चारण नभएको जनाएको छ। खावाजा असिफबाट प्राप्त गरेको समाचार पूर्णरुपमा झुठो भएको इजरायली मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

इजरायलले आफ्नो परमाणु हतियारका विषयमा आफूसँग त्यस्ता हतियार छ वा छैन प्रस्ट नहुने नीति अवलम्बन गर्दै आएको छ। तर ऊ परमाणु शक्ति सम्पन्न रहेको विश्वास गरिन्छ। सन् १९९८ मा पहिलो परमाणु परीक्षण गरेको पाकिस्तानसँग करिब १ सय २० वटा परमाणु हतियार छ र उसले यसको भण्डारलाई व्यापक वृद्धि गरिरहेको छ। मुस्लिम बाहुल्य पाकिस्तानको इजरायलसँग कूटनीतिक सम्बन्ध छैन।

असिफ उनको यो गल्तीका कारण व्यापक हास्यको पात्र बनेका छन्। एकजना प्रबुद्ध टिभी पत्रकार नुसरत जाविडले भने– ‘हाम्रो अत्यन्त गम्भीर परमाणु कार्यक्रमलाई ट्विटरको लत लागेका राजनीतिज्ञहरुका लागि छोड्न सकिँदैन।’

प्रतिक्रिया दिनुहोस्