शेयर बजार वियरिस ट्रेन्डमा नेप्से आठ महिनायताकै न्यून



नेपाल समाचारपत्र
काठमाडौं
शेयर बजारमा वियरिस ट्रेन्ड शुरू हुँदा नेप्से परिसूचक सोमबार आठ महिनायताकै न्यून विन्दुमा झरेको छ। आइतबार क्रिसमस बिदाका कारण साताको दोस्रो दिन सोमबारबाट मात्रै कारोबार शुरू भए पनि नेप्से परिसूचक ४२ दशमलव ८४ अंकले घटेर १४ सय ३२ दशमलव ५७ अंकको बिन्दुमा झरेको छ। यसअघि गत वैशाख ७ गते १४ सय ३० अंकमा नेप्से झरेको थियो।

गत साउन १२ गते १८८१ दशमलव ४५ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबारसम्म आइपुग्दा ४४८ दशमलव ८८ अंकले गिरावट आएको छ। लगातार बजार ओरालो लाग्दै जाँदा लगानीकर्ताले शेयर कारोबारमा ४ खर्ब रुपियाँभन्दा बढी गुमाइसकेका छन्। बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर वृद्धि हुनु, बजारमा तरलता बढ्नु तथा बजारमा मागभन्दा आपूर्ति अर्थात शेयर खरिद गर्न चाहनेभन्दा बिक्री गर्न खोज्नेको संख्या बढी देखिएका लगायतका कारणले नेप्से परिसूचकमा गिरावट आउने थालेको छ। शेयर विश्लेषकहरूका अनुसार नेप्से अझै एक सय अंकको हाराहारीमा गिरावट आउन दाबी गरिएको छ। शेयर बजारका पुराना खेलाडीले अहिले बोनस र हकप्रद शेयरमात्रै हालेर आफ्नो नाफालाई सुरक्षित गर्नेतर्फ लागेका छन्। धेरै लगानीकर्ताले शेयरको नाफालाई घरजग्गामा लगानी गरिरहेको अवस्था छ। जसले गर्दा नेप्सेमा गिरावट तथा घरजग्गाको मूल्य आकाशिँदै गएको छ।

शेयर बजारको स्वभाव नै उतारचडाव हुने हो। तर, अस्वभाविक रूपमा बजारमा पहिरो जाने क्रम बढ्नु लगानीकर्ताका निम्ति शुभ संकेत नरहेको विश्लेषकहरूको भनाइ छ। सिद्धार्थ इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्टलगायत १० का कम्पनीहको मूल्य समायोजन भएका कारण पनि बजारमा गिरावट आउनुको अर्को रहेको शेयर ब्रोकरहरूको भनाइ छ।

सोमबार ४३ अंकको हाराहारीमा नेप्सेमा गिरावट आए पनि कारोबार रकममा भने खासै गिरावट आएको छैन। यस दिन ४८ करोड १२ लाख रुपियाँबराबरको शेयर कारोवार भएको छ।सबै समूहमा गिरावट आएको यस दिन सबैभन्दा बढी बीमा समूह ३ सय ११ दशमलव शूून्य १ अंकले घटेको छ। जलविद्युत् समूह ४४ दशमलव १६ अंक, बैंकिङ समूह ४० दशमलव ८६ अंक, होटल समूह ३७ दशमलव शून्य ५ अंक, विकास बैंक समूह ३३ दशमलव १९ अंक, वित्त समूह १९ दशमलव ९४ र अन्य समूह १८ दशमलव ८ अंले ओरालो लागेबा छ।

१३० कम्पनीको १५ लाख ५० हजार कित्ता शेयर किनबेच हुँदा १३ कम्पनीका लगानीकर्ताले मात्रै नाफा कमाएका छन्। अघिल्लो साताको अन्तिम दिनको कारोबारभन्दा साढे सात लाख कित्ता बढी शेयर किनबेच भए पनि २ करोड रुपियाँ कम कारोबार भएको दिन जनउत्थान सामुदायिक लघुवित्त र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत तथा एनबी इन्स्योरेन्स, आईएलएफसिओ माइक्रोफाइनान्स, वेस्र्टन डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ता कमाएका छन्।

यस दिन नागबेली लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स, र प्रोगेसिभ फाइनान्स, प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, समिट माइक्रोफाइनान्सलगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन्। त्यस्तै सोमबार सबैभन्दा एभरेष्ट बैंकको ३ करोड ५४ लाख रुपियाँ, बैंक अफ काठमाण्डू लुम्बिनीको ३ करोड ३७ लाख, नेको इन्स्योरेन्सको २ करोड ३४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ। साथै ‘क’ वर्ग कम्पनीहरूको मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ९ दशमलव ५५ अंकले घटेर ३ सय शून्य ९ दशमलव २१ को बिन्दुमा रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्