दोस्रो विश्व युद्धताकाको विशाल बम प्राप्त



बर्लिन, (एजेन्सी) जर्मनीको एउटा शहरमा दोस्रो विश्व युद्ध ताकाको एउटा फेला परेपछि क्रिसमसको बिदा मनाइरहेका कम्तीमा ५४ हजार बासिन्दालाई तिनीहरुको घरबाट सुरक्षित स्थान सारिएको छ।

अग्सवर्ग शहरमा फेला परेको उक्त बम १ दशमलव ८ टनको भएको र त्यसलाई क्रिसमसकै दिनमा निस्क्रिय पार्ने तयारी भएकाले नगरका हजारौं नागरिकलाई सुरक्षित स्थान सार्नुपरेको एसोसिएटेड पे्रसले जनाएको छ। विशेषज्ञहरुबाट बम निस्क्रिय पारुन्जेलसम्म आफ्ना मित्र तथा नातेदारहरुकोमा बस्न असमर्थहरुका लागि एउटा विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ। आश्रय खोजिरहेकाको सहयोगका लागि थुप्रै भवन खुला राखिएको र उनीहरुलाई घरपालुवा जनावर पनि ल्याउन अनुमति दिएको जनाइएको छ।

सुरक्षाको दृष्टिकोणले सिल बन्दी गरिएको क्षेत्रमध्यमा मध्ययुगीन किल्ला र सिटी हल पनि परेको जनाइएको छ। प्रहरीले बम निस्क्रिय गरी उक्त इलाकालाई सुरक्षित गर्न कति समय लाग्न सक्छ किटान गर्न असम्भव हुने बताए।

कारबाही पूरा नभएसम्म बम भएको सडक वरपर कसैलाई प्रवेश गर्न अनुमति दिएको छैन। जर्मनीमा दास्रो विश्वयुद्ध ताकाका बमहरु फेला पर्नु असामान्य मानिन्दैन। तर अग्सबर्गमा फेला परेको यो बम विशेष ठूलो भएकोले धेरैलाई सुरक्षित स्थान सार्नुपरेको हो।

प्रतिक्रिया दिनुहोस्