पशुपतिप्रसादले अवार्ड फिर्ता गर्ने नेफ्टाका महासचिवद्वारा राजीनामा



नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का निर्वाचित महासचिव सुरज आचार्यले पदबाट राजीनामा दिएका छन्। आचार्यले हालै यूएईको दुबईमा आयोजित नवौं संस्करणको नेफ्टा फिल्म अवार्डको परिणाममा असहमति जनाउँदै निर्वाचित भएको १ वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिएका हुन्।

‘१ वर्ष महासचिव पदमा रही प्राविधिकको हक–हितमा केही राम्रो कामहरु गर्न पाइयो’, आचार्यले संघको केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उल्लेख गरेका छन्– ‘तर, यस नवौं नेफ्टा अवार्डमा भएको मनोमानी र यस मनोमानीलाई रोक्न नसक्दा म यस गरिमामय संघको महासचिव पदमा बसिरहन मेरो आत्माले दिएन।’
यसै बीच अवार्ड समारोहमा पशुपतिप्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा अवार्ड नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले नैतिकरूपमा अवार्ड अस्वीकार गरेको बताएका छन्। ‘सर्वोत्कृष्ट फिल्म हुनलाई जुन–जुन महत्त्वपूर्ण विधा आवश्यक पर्छ, त्यो नभएपछि नैतिकरूपले सर्वोत्कृष्ट फिल्मको अवार्ड लिन नमिल्ने लागेर मैले अवार्ड लिइनँ। ३⁄४ पटक नाम अनाउन्स भयो। तर, म अवार्ड लिन गइनँ। सबैले मलाई हेरिरहेका थिए। म नगएपछि दीपकराज गिरीले त्यो अवार्ड लिइदिनुभयो’, खनालले भने– ‘अवार्ड होटलमै छोडेर आउन लागेको थिएँ तर आफ्नो देशको चिजको माया लागेर विदेशमा छोड्न मन लागेन। त्यसैले हिजो एयरपोर्टमा आउने बित्तिकै नेफ्टाका महासचिवलाई म यो अवार्ड स्वीकार्न सक्दिन, अफिसमा बुझाउन पठाइदिन्छु भनेको थिएँ, राजीनामा दिइसक्नुभएछ।’

प्रतिक्रिया दिनुहोस्