चौथो साफ महिला फुटबल च्याम्पियनसिप: नेपालको सानदार जित



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली राष्टिय महिला फुटबल टोलीले सिलगुढीमा आयोजना भइरहेको चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जित हात पारेको छ ।

सोमबार सिलगुढीस्थित कन्चनजंघा रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोल अन्तरले हराएको हो । यो जितसँगैं नेपालले समूह ए मा तीन अंक जोडेको छ । समूह ए कै अर्को खेलमा श्रीलंका र माल्दिभ्सले आजै साँझमा खेल्नेछन् ।

नेपालले खेलभरि दवाव दिएको खेलमा पहिलो हाफमै सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा ५–० गोलअन्तरले अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले थप तीन गोल गरेको थियो । नेपालको जितमा सावित्राले खेलको पाँचौ मिनेटमा गोल गरेर १–० को अग्रता दिलाइन । नवौं मिनेटमा शर्मिला थापाले अग्रता दोब्बर पार्दा २३औं मिनेटमा सावित्राले ३–० को अग्रतामा राखिन् । २६औं मिनेटमा शर्मिलाले थप गोल गर्दा नेपाल ४–० को अग्रतामा पुग्यो । त्यस्तै सावित्राले ३५औं मिनेटमा गोल गरी ह्याट्रिक पुरा गरिन् ।

दोस्रो हाफमा पनि नेपालको गोल गर्ने क्रम कम भएन । सावित्राले ७२ औं र ७७ औं मिनेटमा गोल गरेर नेपालको अग्रता ७–० मा राखिन् । उनी ८२ औं मिनेटमा मैदानबाट बाहिर आइन । उनको स्थानमा आएकी कृष्णा थापाले अन्तिम मिनेटमा गोल गरेपछि नेपाल ८–० ले जितेको छ । नेपालले आफनो दोस्रो खेलमा माल्दिभ्ससँग बुधबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्