विधान विपरित गएको भन्दै उपाध्यक्ष चौधरी कारबाहीमा



संसदबाट फिर्ता बोलाई पार्टीको सामान्य सदस्य समेत नरहने गरी पार्टीबाटै निष्कासन
काठमाडौं, (नेस)
थरुहट तराई पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरी (सत्गौंवा)लाई विधान विपरित गएको भन्दै पार्टीले कारबाही गरेको छ । चौधरीले थरुहट तराई पार्टी लोकतान्त्रिक नामक नयाँ पार्टी गठन गरेपछि कारबाहीमा पर्नुभएको हो ।

चौधरी संसदको विधायन समितिकी सभापति पनि हुनुहुन्छ । केन्द्रीय उपाध्यक्ष चौधरीलाई व्यवस्थापिका संसद सदस्यबाट फिर्ता बोलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार कारबाही गरेको सचिव मिनराज चौधरीले जानकारी दिनुभयो ।

‘उहाँ पार्टीको अनुशासनमा रहनुभएन ।’, सचिव चौधरीले न्युज अफ नेपालसँग कुरा गर्दै भन्नुभयो, ‘हामीले पटक–पटक गरी उहाँलाई सचेत गराउँदा समेत उहाँले अटेर गर्नुभयो, अन्तमा हामी बाध्य भएर यस्तो निर्णय गर्न बाध्य भएका हौं ।’

उहाँका अनुसार उपाध्यक्ष चौधरीलाई कारबाही गरेको सूचना निर्वाचन आयोग र व्यवस्थापिकाक संसद कार्र्यालयमा सूचित गराईसकेको छ ।
आईतबार दिनभर बसेको केन्द्रीय समितिलेको बैठकले उपाध्यक्ष चौधरी पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरित कार्य गरिरहेको निष्कर्श निकालेको छ ।

भने यस सम्बन्धमा सच्चिनका लागि उपाध्यक्ष चौधरीलाई पटक–पटक सचेत गराउँदा पनि बारम्बार अनुशासन उलंघन गर्दै अन्ततः थरुहट आन्दोलन, शहीदहरुको बलिदानीको अपमान र आन्दोलनको क्रममा उठाईएका माग मुद्दालाई लत्याउँदै पार्टीलाई धोका दिई नीहित व्यक्तिगत स्वार्थकालागि केवल आफ्नो सांसद पद जोगाउन र पहिचान तथा अधिकार बिरोधी शक्ति केन्द्रहरुको लोभलालचमा परी नयाँ पार्टी खोल्नेसम्मको हर्कत गरेको हुनाले चौधरीलाई कारबाही गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्